बुटवल । भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा असन्तुष्ट बनेका रुपन्देहीका व्यवसायीहरूले आज विमानस्थलको गेट अगाडि भेला भएर प्रदर्शन गरेका छन् ।

बुधबार बिहान चेम्बर अफ कमर्स रुपन्देहीको नेतृत्वमा दर्जन बढी संघसंस्थाले विमानस्थलको मुख्य गेटमा एक घण्टा धर्ना तथा विरोध प्रदर्शन गरेका हुन् ।
धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै व्यवसायी संघसंस्थाका अगुवाहरूले अन्तर्राष्ट्रिय उडान नियमित सुरु नगरे आन्तरिक उडान बन्द गराउनेदेखि सम्बन्धित मन्त्रीहरूको बहिष्कारदेखि काठमाडौंमा पुगेर मन्त्रालय घेराउसम्मको कार्यक्रम गर्ने चेतावनी पनि दिए ।
नेपाल चेम्बर अफ कमर्स रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले चेतावनी दिँदै भने, ‘आजको धर्ना त केवल संकेत मात्र हो, माग सम्बोधन भएन भने निर्णायक आन्दोलन हुनेछ ।’
यसैगरी चेम्बर अफ कमर्स लुम्बिनीका अध्यक्ष टंकप्रसाद पोखरेलले रुपन्देहीका सबै व्यवसायिक संस्थाहरूले एकीकृत आन्दोलन गरेर सरकारलाई माग पूरा गर्न दबाब दिनुपर्ने खाँचो औंल्याए ।
नेपाल सरकारको ३७.४ प्रतिशत र एसियाली विकास बैंकको ६२.६ प्रतिशत लगानीमा निर्माण भएको विमानस्थल २०७९ जेठ २ गते उदघाटन भए पनि अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा व्यवसायीहरूले पटक–पटक आन्दोलन गर्दै आएका छन् ।






