कैलाली भजनी, २०८२ जेठ १३ गते

भजनी नगरपालिका वडा नं. २ लाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन वडा घोषणा गरिएको छ। वडा अध्यक्ष दुर्गा बहादुर पुनको सभाध्यक्षतामा वडा कार्यालयको बैठक हलमा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि भजनी नगरपालिका स्वास्थ्य शाखाका प्रमुख कैलास डङौरा थारु रहनु भएको थियो ।
कार्यक्रममा वडा सदस्यहरू, महिला स्वास्थ्य स्वयंसेविका, भलमन्सा, स्वास्थ्यकर्मी तथा विभिन्न सरोकारवाला निकायहरूको सहभागीता रहेको थियो।
“स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता – हाम्रै प्रतिबद्धता” भन्ने नारासहित सञ्चालन गरिएको कार्यक्रममा १५ महिना मुनिका सम्पूर्ण बालबालिकाले अनिवार्य खोप प्राप्त गरिसकेको आधारमा वडा नं. २ लाई पूर्ण खोप सुनिश्चित तथा दिगोपन वडा घोषणा गरिएको हो।
कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविका गुमा चन्दले भनिन्, “खोप नपाएका बालबालिकालाई टोल–टोलमा गएर खोज्यौं, घाम–पानी नभनी गाउँ–गाउँमा खट्यौं, त्यसैले आजको यो उपलब्धि सम्भव भएको हो।”
वडा सदस्य रेखा वि.क.ले आफ्नो मन्तव्यमा खोप अभियानमा स्वयंसेविकाहरूको योगदान अत्यन्त सरानिय भएको बताउँदै खुसी व्यक्त गर्नुभयो ।
स्वास्थ्यकर्मी शिवा कुमारी चौधरी र रतिराम डङौरालाई प्रशंसा पत्र प्रदान गरिनुका साथै अन्य महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पनि प्रमाणपत्र वितरण गरी सम्मान गरिएको थियो।
त्यस्तै, आधारभूत स्वास्थ्य सेवा केन्द्रका अहेव रतिराम चौधरीले खोप प्रवाहमा विभिन्न समस्या आउने गरेको र ती समस्याको समाधान आवश्यक रहेको बताए।
शुभकामना मन्तव्य व्यक्त गर्दै टेक राज चौधरीले सबैको समर्पण र सहभागिताले यस्तो उपलब्धि सम्भव भएको भन्दै निरन्तरता र दिगोपनका लागि सामूहिक प्रयास आवश्यक रहेको बताए।
प्रमुख अतिथि कैलास डङौरा थारुले भजनी नगरपालिकाका विभिन्न वडामा यस्ता घोषणा कार्यक्रमहरू भइरहेको र सबै वडामा कार्यक्रम सम्पन्न भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषणा गरिने जानकारी दिनुभयो।
कार्यक्रमको अन्त्यमा वडा अध्यक्ष दुर्गा बहादुर पुनले पूर्ण खोप सुनिश्चितताको प्रतिबद्धता जनाउँदै औपचारिक रूपमा प्रतिबद्धता ब्यानरमा हस्ताक्षर गर्नुभयो। उहाँले आगामी दिनमा पनि स्वास्थ्य अभियानमा वडा कार्यालयको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रम भजनी नगरपालिका स्वास्थ्य शाखा तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र, भजनी न.पा–२, पल्टुपुर, कैलालीको सहकार्यमा आयोजना गरिएको थियो।




