क्षितिज जैशी, लम्की कैलाली

लम्कीचुहा, जेठ २३ – कीटजन्य रोग नियन्त्रण तथा जनचेतनाको उद्देश्यले लम्चुहा नगरपालिकाको सभा हलमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। लम्कीचुहा नगरपालिकाका उपप्रमुख जुना चौधरीको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा स्वास्थ्यकर्मी, समाजसेवी, सञ्चारकर्मी, बुद्धिजीवी, जनप्रतिनिधि लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रशिक्षक तप्त भण्डारीले कीटजन्य रोगको बारेमा विस्तृत जानकारी दिँदै रोग फैलिनाका प्रमुख कारणहरू, नियन्त्रण तथा निवारणका उपायहरूबारे सहभागीलाई जानकारी गराए। उनले रोगको प्रारम्भिक लक्षणहरू, परीक्षण विधि, घरेलु सतर्कता तथा समुदायस्तरीय सचेतना अभियानको महत्त्वबारे पनि जानकारी दिएका थिए ।

कार्यक्रममा उपप्रमुख जुना चौधरीले वातावरण प्रदूषणसँग सम्बन्धित विषयमा प्रकाश पार्दै प्लास्टिक जलाउँदा उत्पन्न हुने विषालु ग्यासहरूले वातावरणमा गम्भीर असर पार्ने बताइन्। उनले भनिन्, “सानो सानो रोग बेवास्ता गर्दा ठूलो रोगमा परिणत हुन सक्छ, त्यसैले समयमै सचेत हुनु जरुरी छ।”
कार्यक्रममा वडा नं. ५ का अध्यक्ष माया बिष्ट,नेपाल पत्रकार महासंघ कैलाली शाखाका सदस्य चन्द्रप्रसाद खनाल, प्रहरी, विभिन्न स्वास्थ्यकर्मी, सञ्चारकर्मी र स्थानीय अगुवाहरूको सहभागिता रहेको थियो।





