भजनी नगरपालिकाको सहकार्य र खप्तड तालिम तथा रोजगार मल्टिप्रपोज प्रा.लि अछामको आयोजनामा अति जोखिममा रहेका, अनाथ तथा विपन्न बालबालिकाहरुलाई स्टेशनरी सामग्री र विद्यालय पोशाक वितरण गरिएको छ।

नगरपालिकाका नगर प्रमुख केवल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा भजनी नगरपालिका उपप्रमुख राजु तिरुवाको सभाध्यक्षता रहेको थियो।
कार्यक्रम अन्तर्गत १६ वटा विद्यालयमा अध्ययनरत १०२ जना बालबालिकालाई विद्यालय पोशाक तथा ६५ जना बालबालिकालाई स्टेशनरी सामग्री वितरण गरिएको हो। प्रतीव्याक्ती १ दर्जन डटपेन र १ दर्जन कापी प्रदान गरिएको थियो।
कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याण उपशाखा कर्मचारी जौकला सार्की , बिधालय बालबालिका, अभिभावक र शिक्षक लागायतको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख केवल चौधरीले बालबालिकालाई अनुशासन र पढाइमा मन लगाउन प्रेरित गरे। उनले भने, “गुच्चा खेलेर समय बिताउनु हुँदैन, नदीमा नुहाउनु जोखिमपूर्ण छ, नचिनेको व्यक्तिले गलत कार्यमा प्रयोग गर्न सक्छ । त्यसैले सतर्क रहनुपर्छ। पढेर आफ्नो आमा-बुबाको नाम कमाउनु पर्छ।”




