भजनी, कैलाली — यज्ञराज जैशी

भजनी नगरपालिका वडा नं. १ मा रहेको महुन्याल माध्यमिक विद्यालयले आ.व. २०८०/०८१ मा भएका कार्यहरूको सामाजिक परीक्षण कार्यक्रम आयोजना गरी सार्वजनिक रूपमा प्रतिवेदन प्रस्तुत गरेको छ। शिक्षक–अभिभावक संघका अध्यक्ष जगत वि.क को सभाध्यक्षता, नगरप्रमुख केवल चौधरी को प्रमुख आतिथ्य, वडा नं. १ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष धर्मेन्द्र श्रेष्ठ को विशिष्ट आतिथ्य तथा सामाजिक परीक्षण समिति सदस्य कोपिला रसाइली को स्वागत मन्तवयका साथ कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै अध्यक्ष जगत वि.क.ले विद्यालय व्यवस्थापनमा अभिभावकहरूको भूमिकामा कमजोरी देखिएको बताए। “प्रत्येक महिनामा अभिभावक र शिक्षकबीच अन्तर्क्रिया कार्यक्रम आवश्यक छ,” उनले भने, “राजनीतिक कारणले गर्दा व्यवस्थापन समितिको पदाधिकारी चयन प्रक्रिया नै रोकिएको छ।” उनले विद्यालयमा खानेपानीको पर्याप्त व्यवस्था नभएको गुनासोसमेत राखे।
विद्यालयका निवर्तमान अध्यक्ष हर्कबहादुर बुढा ले पनि कार्यक्रममा मन्तव्य व्यक्त गर्दै व्यवस्थापन सुधारका लागि सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गरे।
नगरप्रमुख केवल चौधरीले अभिभावकको जिम्मेवारीप्रति जोड दिँदै भने, “विद्यालयले विद्यार्थीलाई पढाएर घर पठाउँछ, तर उनीहरू घरमा गृहकार्य गर्छन् कि गर्दैनन् भन्ने कुरामा अभिभावक जिम्मेवार हुनु जरुरी छ।” उनले सामाजिक सञ्जालमा अनावश्यक विरोध गर्नुको सट्टा सुझाव र सल्लाह दिन आग्रह गरे, “हामी सदैव विकासमा कटिबद्ध छौं ।
वित्तीय प्रतिवेदन सार्वजनिक
विद्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आ.व. २०८०/०८१ मा विद्यालयको आम्दानीतर्फ कुल ८ करोड ८ लाख ९० हजार ७९२ रुपैयाँ रहेको छ भने खर्चतर्फ ४ करोड ५१ लाख ४ हजार ६८३ रुपैयाँ खर्च भएको उल्लेख छ।
जम्मा बाँकी मौज्दात ३ करोड ५९ लाख ८५ हजार १०९ रुपैयाँ रहेको छ।
विद्यालयले साइन्टिफिक नलेज नेपाल, काठमाडौं सँग पुस्तक खरिद बापत ३१ हजार ९९० रुपैयाँ भुक्तानी दिन बाकी रहेको उल्लेख गरिएको छ।
त्यस्तै, जग्गा ठेक्का बापत विद्यालयले पाउनुपर्ने रकम ७६ लाख ५६ हजार ८१३ रुपैयाँ रहेको छ।
शिक्षक तथा शिक्षिका लगायतले पेश्की रूपमा लिएको फिर्ता दिनुपर्ने रकम ४ लाख ९८ हजार ८६ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।
कार्यक्रममा विद्यालयका प्राचार्य, शिक्षक–शिक्षिका, लेखा परीक्षण सदस्य, विद्यालय व्यवस्थापन समिति सदस्य, अभिभावक तथा विद्यार्थी लगायतको सहभागीता रहेको थियो।






