भजनी, कैलाली- यज्ञराज जैशी

कैलालीको भजनी नगरपालिका-५ पृथ्वीपुरमा रहेको ईलाका प्रहरी कार्यालयमा दरबन्दीअनुसारको प्रहरी जनशक्ति नभएको पाईएको छ । कार्यालयका इन्चार्ज वरिष्ठ प्रहरी सहायक निरीक्षक जीवन गुरुङका अनुसार २३ जना प्रहरीको दरबन्दी भए पनि हाल जम्मा ९ जना मात्र कार्यरत रहेका छन्।
“एक जना खाना पकाउने जिम्मेवारीमा छन् भने कहिलेकाहीँ तालिमको कारण थप एक जना बाहिर रहनु पर्ने हुन्छ, उनका अनुसार सीमावर्ती क्षेत्र भएकाले गस्तीमा एक जना प्रहरीलाई मात्र पठाउन जोखिम हुन्छ, त्यसैले ३/४ जनाको टोली बनाएर खटाइनुपर्ने बाध्यता छ।
“जनशक्तिको गम्भीर अभावका कारण नियमित गस्ती, र तस्करी नियन्त्रणमा कठिनाइ हुनेगरेको बताए।
उक्त कार्यालयमा राम्रो शौचालय नहुदा प्रहरी कर्मचारीहरूलाई नजिकको छोटी भन्सार कार्यालय धाउनुपर्ने बाध्यता छ।
त्यस्तै तस्करी नियन्त्रण र गस्ती कार्यलाई सहज बनाउनका लागि कार्यालयलाई दिएको सरकारी मोटरसाइकल समेत प्रयोगविहीन अवस्थामा थन्किएको पाईएको छ। गुरुङका अनुसार “सेतो सरकारी मोटरसाइकल बिग्रिएको छ, मर्मत गर्न झण्डै १५/२० हजार रुपैयाँ लाग्ने अनुमान छ।” तर आवश्यक बजेट र सहयोग नहुँदा मर्मत सम्भव भएको छैन।




