कैलाली भजनी, असार २२

यज्ञराज जैशी
भजनी नगरपालिका स्वास्थ्य तथा सरसफाइ सम्बन्धी प्रस्तावित ऐनको मस्यौदा माथि सरोकारवालासँग सुझाव संकलन कार्यक्रम सम्पन्न भएको छ।
भजनी नगरपालिका सभा हलमा सम्पन्न कार्यक्रममा भजनी नगरपालिका विधेयक समिति संयोजक शान्ती देवी चौधरीको सभाध्यक्षता तथा नगर प्रमुख केवल चौधरीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा प्रस्तावित ऐनको मस्यौदाबारे विस्तृत छलफल गरिँदै उपस्थित सरोकारवालाबाट राय र सुझाव संकलन गरिएको थियो।
सुझाव संकलन तथा अन्तर्क्रिया कार्यक्रममा नगर उपप्रमुख राजु तिरुवा ,भजनी क्षेत्रमा क्रियाशील मेडिकल क्लिनिकका चिकित्सक, पालिका कानुन ईकाई प्रमुख पुर्ण प्रसाद जोशी , संचारकर्मी, स्वास्थ्य संस्था प्रमुख, वडा अध्यक्ष तथा सदस्य लगायतको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागीहरूले मस्यौदामा समावेश गरिएका प्रावधानहरू माथि प्रभावकारिता तथा स्थानीय आवश्यकताका आधारमा महत्वपूर्ण सुझाव प्रस्तुत गरेका थिए। भजनी नगरपालिका नगर प्रमुख तथा प्रमुख अतिथि केवल चौधरीले सरोकारवालाबाट प्राप्त सुझावलाई ध्यानमा राख्दै ऐनलाई अझ प्रभावकारी र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। आएको सुझावहरुलाई आफुहरुले मनन गर्ने बताए ।




