क्षितिज जैसी,लम्की कैलाली

कैलालीको लम्कीचुहा नगरपालिका–१ स्थित कालिका माध्यमिक विद्यालय, भुरुवामा गुरु पूर्णिमा २०८२ को अवसरमा विशेष कार्यक्रमको आयोजना गरी भव्य रूपमा सम्पन्न गरिएको छ। परम्परागत रुपमा गुरुहरूको योगदानलाई सम्झने र सम्मान प्रकट गर्ने यस अवसरमा विद्यार्थीहरूद्वारा आयोजित कार्यक्रम निकै भावनात्मक र समर्पणपूर्ण देखिएको थियो।
विद्यालयमा अध्ययनरत कक्षा १२ का विद्यार्थीहरूको विशेष पहल र आयोजनामा सम्पन्न उक्त कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमले विद्यालयमा अध्ययनरत सबै तहका विद्यार्थीहरू र शिक्षक समुदायबीचको आत्मीय सम्बन्धलाई झनै प्रगाढ बनाएको देखिएको छ।
कार्यक्रमको सभाध्यक्षता कक्षा १२ मा अध्ययनरत रेनु सुनारले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा विद्यालयका प्रधानाध्यापक दिलराज थापाको उपस्थिति रहेको थियो भने विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिकाहरू विशिष्ट अतिथिका रूपमा कार्यक्रममा सहभागी हुनु भएको थियो। यस प्रकारको उपस्थिति र सहभागिताले कार्यक्रमलाई औपचारिक मात्र नभई आत्मीयता र गरिमाले भरिएको बनाएको थियो।
कार्यक्रमको प्रारम्भ कक्षा १२ का विद्यार्थी दीपक रोकायाको स्वागत मन्तव्यबाट गरिएको थियो। कार्यक्रमको सञ्चालन पनि सोही कक्षाका विद्यार्थी क्षितिज जैसीले प्रभावशाली ढंगले गर्नुभएको थियो। कार्यक्रममा विभिन्न साहित्यिक, सांस्कृतिक तथा सम्मानजन्य गतिविधिहरू समावेश गरिएका थिए जसले गुरु र विद्यार्थीबीचको सम्बन्धलाई थप प्रगाढ बनायो।
कक्षा १२ का विद्यार्थीहरूले विशेषरूपमा विद्यालयका सम्पूर्ण शिक्षक–शिक्षिकाहरूलाई उपहार हस्तान्तरण गर्दै आफ्नो कृतज्ञता र सम्मान प्रकट गरेका थिए। यस्तै, विद्यालयप्रति कृतज्ञता प्रकट गर्दै प्रधानाध्यापक दिलराज थापालाई मायाको चिनो प्रदान गरिएको थियो, जसले सम्पूर्ण वातावरणलाई भावुक र आत्मीय बनाएको थियो।
यस अवसरमा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूले समेत आ–आफ्ना शिक्षकहरूलाई गुरु पूर्णिमाको शुभकामना व्यक्त गर्दै सम्मान अर्पण गरेका थिए। कोहीले कविता वाचन गरेर, कोहीले गीत गाएर त कोहीले प्रत्यक्ष धन्यवाद दिँदै शिक्षकमाथिको कृतज्ञता प्रस्तुत गरेका थिए।
विद्यालय प्रशासनका अनुसार यस कार्यक्रमले विद्यार्थीहरूमा संस्कार, अनुशासन र गुरुप्रतिको श्रद्धा जगाउन महत्वपूर्ण भूमिका खेलेको छ। शिक्षकहरूले पनि विद्यार्थीहरूबाट प्राप्त सम्मानप्रति आभार प्रकट गर्दै यस प्रकारका कार्यक्रमहरूले आपसी सम्बन्धलाई अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो।
गुरु पूर्णिमा २०८२ को अवसरमा कालिका माध्यमिक विद्यालयमा आयोजित उक्त कार्यक्रम गुरु र शिष्यबीचको गहिरो सम्बन्ध, शिक्षाको महत्व र कृतज्ञताको संस्कार झल्काउने एउटा प्रेरणादायी उदाहरण बनेको छ। विद्यालयमा यस्तो संस्कार निर्माण गर्ने कार्य विद्यार्थीहरूबाटै सुरु हुनु गौरवको विषय भएको प्रतिक्रिया विद्यालय समुदायबाट प्राप्त भएको छ।




