क्षितिज जैसी, लम्कीचुहा कैलाली

ईलाका प्रहरी कार्यालय लम्की कैलालीको सहयोगमा लम्की बजार क्षेत्रबाट उद्दार गरिएका अन्दाजी २४/२५ वर्षीया एक बेवारिसे जपुरुषको उपचारको क्रममा २०८२ असार २२ गते लम्कीचुहा अस्पतालमा निधन भएको छ।
उक्त पुरुषको उद्दार मानवसेवा लम्की संस्था र प्रहरीले संयुक्त रूपमा गरेका थिए। उद्दारपछि उनलाई मानवसेवा लम्की संस्थाको आश्रयमा राखेर नियमित हेरचाह तथा उपचार गरिँदै आएको थियो। संस्थाले उनको स्वास्थ्य अवस्था सुधार होस् भनेर सम्भव भएसम्मको उपचार र सेवामा कुनै कसर बाँकी नराखेको जनाएको छ। तर दीर्घ रोगको कारण अवस्था जटिल बन्दै गएपछि उनलाई लम्कीचुहा अस्पतालमा भर्ना गरिएको थियो। अन्ततः निरन्तरको प्रयासका बावजुद असार २२ गते अस्पतालमै उनको मृत्यु भएको हो।
मृत्युपछि कानुन बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गर्दै सात दिने सूचना प्रकाशित गरियो। सूचना जारी भएतापनि सो अवधिभित्र मृतकका कुनै आफन्तजन सम्पर्कमा नआएपछि उनलाई ‘बेवारिसे शव’को रूपमा व्यवहार गरी कानुनी प्रक्रिया अनुसार अन्त्येष्टि गर्ने निर्णय गरियो।
दाहसंस्कारमा लम्कीचुहा नगरपालिकाका नगरप्रमुख शुसिला शाही तथा मानवसेवा लम्की संस्थाका अध्यक्ष बिनोद थापाले दागबत्ती दिएका थिए। नगरप्रमुख शाहीले अन्त्येष्टि कार्यक्रममा सहभागी हुँदै मानवसेवाले गरिरहेको सामाजिक सेवाको प्रशंसा गर्दै बेवारिसे, असहाय र संकटमा परेका नागरिकप्रति राज्य र समाज दुवैको दायित्व रहेको धारणा राखिन्।
मानवसेवा लम्की संस्था विगत केही वर्षदेखि लम्कीचुहा क्षेत्रका बेवारिसे, असहाय, मानसिक रोगी तथा सडकमै जीवन यापन गरिरहेका नागरिकहरूको उद्धार, संरक्षण, उपचार तथा पुनःस्थापना कार्यमा क्रियाशील रहेको संस्था हो।






