भजनी कैलाली, साउन २ यज्ञराज जैशी

कैलालीको भजनी नगरपालिका-१ स्थित बेलजुसको प्राङ्गणमा २५ औं कमैया मुक्ति दिवस-२०८२ भव्य रूपमा सम्पन्न भएको छ।
“न्यायिक पहिचान, व्यवस्थित पुनःस्थापना, सम्मानित जीवन” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा करिब ४ सयभन्दा बढी मुक्त कमैयाहरूको सहभागिता रहेको थियो।
नगरस्तरीय मुक्त कमैया समाजका अध्यक्ष तेसराम चौधरीको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य घनश्याम चौधरी रहनुभएको थियो। विशिष्ट अतिथिका रूपमा भजनी नगरपालिकाका कार्यवाहक नगरप्रमुख तथा उपप्रमुख राजु तिरुवा रहनुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि घनश्याम चौधरीले थारु समुदायले राज्यबाट लामो समयदेखि विभेद भोग्नुपरेको बताउदै मुक्त कमैयाहरूको जीवनस्तर उकास्न अझ धेरै योजना र कार्यान्वयन आवश्यक रहेको बताए। “सरकारमा पुगेपछि ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको, तर अझै शिक्षा, स्वास्थ्य र रोजगारीको पहुँचमा मुक्त कमैयाका बालबालिका पछाडि छन्,उनले भने।
कार्यक्रममा भजनी नगरपालिका-३ का वडाध्यक्ष तथा प्रवक्ता विक्रम चौधरी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, कार्यपालिका सदस्यहरू, वडा अध्यक्ष तथा सदस्यहरू, सुरक्षाकर्मी, पत्रकार, समाजसेवी, विभिन्न वडाबाट आएका मुक्त कमैया समुदायको उपस्थिति रहेको थियो।
बाल श्रम, बाल यौन शोषण, बाल विवाह र बहुविवाह अन्त्य गरौं भन्ने नारा बोकेर भजनी बजार परिक्रमा गरिएको थियो। साथै, उक्त कार्यक्रममा थारु समुदायको विभिन्न सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो।
नगरस्तरीय मुक्त कमैया समाज र कमैया महिला जागरण समाज भजनीको आयोजनामा तथा भजनी नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको सञ्चालन सीताराम चौधरीले गर्नुभएको थियो।

सत्य तत्य समाचारका भजनी जालपा मिडिया प्रा.लि भजनी,कैलाली
प्रबन्ध निर्देशक: यज्ञराज जैसी सम्पर्क न.९८१४६५८२१४
www.bhajaninews.com






