कैलाली लम्कीचुहा,क्षितिज जैसी

त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ र १२ गतेदेखि सुरु हुँदैछ। परीक्षा नजिकिँदै गर्दा विद्यार्थीहरूलाई परीक्षा केन्द्रसम्म जान सजिलो होस् भन्ने उद्देश्यले लम्की बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) टिमले क्याम्पस प्रशासनसँग निःशुल्क बस सेवा उपलब्ध गराउन माग गरेका थिए।
स्ववियुका अनुसार क्याम्पसमा अध्ययनरत अधिकांश विद्यार्थीहरू टाढाबाट आउँछन् र परीक्षा दिन बिहानै यात्रा गर्नुपर्ने अवस्था छ। यस्तो अवस्थामा उनीहरूको सहजताका लागि क्याम्पसको बस प्रयोग गरी केन्द्रसम्म लैजान प्रशासनलाई अनुरोध गरिएको थियो। तर, प्रशासनले सो माग अस्वीकार गरेपछि स्ववियु टिमले सनिवार देखि क्याम्पसमा तालाबन्दी गरेको हो।
प्रशासनको निर्णयप्रति आपत्ति जनाउँदै स्ववियुले उक्त निर्णय विद्यार्थीविरोधी भएको आरोप लगाएको छ। उनीहरूका अनुसार शिक्षा र परीक्षाको पहुँच सहज बनाउनेतर्फ नभई क्याम्पस प्रशासन निष्क्रिय देखिएको छ, जसप्रति उनीहरू गम्भीर आपत्ति जनाइरहेका छन्।
यसैबीच, क्याम्पस प्रशासनले एक सूचना जारी गर्दै क्याम्पसमा हाल दोस्रो, तेस्रो र चौथो वर्षका कक्षाहरू नियमित सञ्चालनमा रहेकाले बस प्रयोग गर्न नसकिने उल्लेख गरेको छ। क्याम्पसमा एकमात्र बस रहेको र सो बसले नियमित कक्षा सञ्चालनमा प्रयोग भैरहेकाले थप सेवा दिन नसकिने स्पष्ट पारिएको छ। 
सूचनामा साउन ११ र १२ गते सञ्चालन हुने प्रथम वर्षका शिक्षा, मानविकी तथा व्यवस्थापन संकायका विद्यार्थीहरूले परीक्षा केन्द्रसम्म जान-आउनको व्यवस्था आफैंले गर्नुपर्ने उल्लेख छ।
स्ववियु र क्याम्पस प्रशासनबीच हालसम्म औपचारिक संवाद नहुनु र समाधानको पहल नदेखिनुले समस्या झन गहिरिएको छ। तालाबन्दी कहिलेसम्म चल्ने भन्नेबारे प्रष्ट नहुनुले पठनपाठन र क्याम्पसको अन्य गतिविधिमा समेत असर परेको विद्यार्थीहरूले बताएका छन्।
विद्यार्थीहरू भने आफ्ना न्यूनतम मागहरू प्रशासनले सम्बोधन नगरेमा थप आन्दोलनमा जान सक्ने चेतावनी दिइरहेका छन्। यसले क्याम्पसको शैक्षिक वातावरणमा अन्योलता सिर्जना गरेको देखिन्छ।




