कैलाली लम्कीचुहा, क्षितिज जैसी

लम्की बहुमुखी क्याम्पसमा विद्यार्थीका माग बेवास्ता गरिएको भन्दै गत शुक्रबार लगाइएको तालाबन्दी आइतवार हटाइएको छ। त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तह प्रथम वर्षको परीक्षा साउन ११ र १२ गते सुरु हुन लागेका बेला विद्यार्थीलाई परीक्षा केन्द्रसम्म निःशुल्क बस सेवा दिनुपर्ने माग गर्दै स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले तालाबन्दी गरेको थियो।
स्ववियु, क्याम्पस प्रशासन, व्यवस्थापन समिति, विद्यार्थी प्रतिनिधि र प्रहरीको रोहवरमा भएको छलफलपछि परीक्षाका दिन विद्यार्थीलाई केन्द्रसम्म लैजाने सहमति भएपछि आइतवार तालाबन्दी हटाइएको हो।
सहमतिको मुख्य बुँदाहरू:
साउन ११ र १२ गते हुने स्नातक प्रथम वर्षको परीक्षा दिने विद्यार्थीलाई केन्द्रसम्म निःशुल्क बस सेवा उपलब्ध गराइनेछ।
क्याम्पसको बस प्रयोग हुनेछ, जसको व्यवस्थापनमा स्ववियु रहनेछ।
घोडाघोडी बहुमुखी क्याम्पसमा परीक्षा हुने विद्यार्थीका लागि लम्की बहुमुखी क्याम्पसबाट बिहान ११ः०० बजे बस छुट्नेछ।
यसअघि क्याम्पस प्रशासनले बस एक मात्र रहेको र हाल दोस्रो, तेस्रो र चौथो वर्षका कक्षाहरू सञ्चालनमा रहेकाले बस उपलब्ध गराउन नसकिने जनाएको थियो। तर विद्यार्थीको दवाब र निरन्तर आग्रहपछि संवादबाट समाधान निकालिएको हो।
क्याम्पसमा पढाइ नियमित, शैक्षिक वातावरण सामान्यतर्फ फर्किंदै
तालाबन्दी हटेपछि क्याम्पसमा पठनपाठन तथा अन्य शैक्षिक गतिविधि पुनः सुचारु भएका छन्। विद्यार्थीले आफ्ना न्यूनतम माग पूरा भएकोमा सन्तोष व्यक्त गरेका छन् भने स्ववियुले विद्यार्थीको हितमा सहमति जुटाउन भूमिका खेलेको दाबी गरेको छ।






