कैलाली भजनी,यज्ञ राज जैशी

कैलालीको भजनी नगरपालिकामा पोषणमैत्री स्थानीय शासनको अवधारणा तथा कार्यान्वयनका चरणहरूबारे दुई दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
पोषणलाई स्थानीय शासन प्रणालीमा कसरी एकीकृत गर्न सकिन्छ भन्ने विषयमा स्पष्ट मार्गदर्शन प्रदान गर्ने उद्देश्यले प्रक्रियागत कार्य कार्यान्वयनका लागि अवलम्बन तथा घोषणा प्रक्रिया सम्बन्धी नगरपालिका स्तरीय नीतिगत अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

भजनी नगरपालिका कार्यबाहक नगर प्रमुख तथा नगर प्रबक्ता बिक्रम चौधरीको सभाध्यक्षमा उक्त कार्यक्रम सुरु गरिएको हो । भजनी नगरपालिकाले आयोजना गरेको कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधि तथा पोषणमैत्री राष्ट्रिय सहजकर्ताका रूपमा विष्णु प्रसाद चौबेले सहजीकरण गरेका थिए । उहाले पोषणमैत्री स्थानीय शासनको अवधारणा, यसको कार्यान्वयनका चरणहरू, स्थानीय तहमा अपनाउनुपर्ने नीतिगत र प्रक्रियागत उपायहरूबारे प्रस्तुत गरेका थिए । उक्त कार्यक्रम पोषण सम्बन्धि जनचेतनामूलक श्राव्य दृश्य समेत प्रस्तुत गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै भजनी नगरपालिका प्रबक्ता बिक्रम चौधरीले पोषण मैत्री कार्यक्रमले आफुहरुलाई हौसला दिएको बताए । यो व्याक्तिगत कार्यक्रम नभई समुदायमा केन्दित कार्यक्रम भएको बताए । उहाले आउने कार्यपालिका बैठकमा यश बिषयमा निर्णय गराउन पहल गर्न बताए । त्यस्तै सबैको प्रयासमा २०८३ मङ्सिर मसान्त सम्म पोषणमैत्री स्थानिय शासन युक्त घोषणा गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै कार्यक्रममा एक व्यानरमा हस्ताक्षर गर्दै सामुहिक प्रतिबद्धता जनाईएको छ ।
यसैगरी कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्षहरुले निति नियम बिधिमा टेकेर वडालाई पोषणमैत्री वडा घोषणा गर्न प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा नगरपालिकाका नगर प्रबक्ता ,वडाध्यक्ष, कार्यपालिका सदस्यहरू, पालिकाका सम्पूर्ण विषयगत शाखा प्रमुखहरू, ९ वटै वडाका वडाध्यक्ष तथा कार्यबाहक अध्यक्ष, वडासचिवहरू, स्वास्थ्य चौकीका प्रमुखहरू, विद्यालयका प्रधानाध्यापकहरू, र महिला स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो ।









