टिकापुर बहुमुखी क्याम्पस वरपर बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासीहरूद्वारा नगर प्रमुखको विवादास्पद अभिव्यक्तिविरुद्ध आज गरिएको प्रदर्शन हिंसात्मक बन्दै गएपछि टीकापुर नगरपालिका घेराउको क्रममा तोडफोड भएको छ।

प्रदर्शनकारीहरूले नगरपालिका कार्यालयको प्राङ्गणमा रहेका गमला लगायतका संरचनाहरू तोडफोड गरेका छन्। सो क्रममा नगरपालिकाका नगर प्रहरी रिमा साउद घाइते भएकी छन्। घाइते साउदको हातमा चोट लागेको र हाल उपचार भइरहेको जनाइएको छ।

सुकुम्बासीहरूको विरोध आन्दोलन निरन्तर चर्किंदै गएको छ। उनीहरूले नगर प्रमुखले दिएको अभिव्यक्तिलाई सुकुम्बासी समुदायप्रति अपमानजनक भन्दै चार दिने अल्टिमेटमसमेत दिएका थिए।
यता नगरपालिकाले सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको भन्दै आन्दोलनकारीहरूको व्यवहारप्रति आपत्ति जनाएको छ। स्थिति तनावपूर्ण भए पनि प्रशासनले अवस्था नियन्त्रणमा रहेको बताएको छ।




