कैलालीको भजनी नगरपालिका र टीकापुर नगरपालिकाका नगरप्रमुखहरू सहितको टोली घोराही उपमहानगरपालिकाले निर्माण गरेका कृत्रिम जलाशयको अध्ययन तथा अवलोकन भ्रमणमा पुगेका छन्।

भजनी नगरप्रमुख केवल चौधरी र टीकापुर नगरप्रमुख रामलाल डगौरा थारुसहित जनप्रतिनिधि, कर्मचारी, एशिया फाउन्डेशन र सहकर्मी समाजका प्रतिनिधिहरूको टोलीले घोराहीको विभिन्न जलाशय स्थलहरूको अवलोकन गरेका हुन्।

टोलीले घोराही उपमहानगरपालिका वडा नं. १ र २ मा पर्ने चेपे जलाशय, वडा नं. १७ को ढिकपुर, कटही र कर्जाही क्षेत्रमा निर्माण गरिएका जलाशयहरूको स्थलगत अध्ययन गरेको हो।
अवलोकन भ्रमणका क्रममा घोराही उपमहानगरपालिकाका इन्जिनियर मधुसुदन खतिवडाले जलाशयको अवधारणा, निर्माण प्रक्रिया र त्यसबाट प्राप्त हुने बहुपक्षीय फाइदाहरूबारे प्राविधिक जानकारी दिएका थिए।




