लम्कीचुहा नगरपालिकाले आफ्नो सफल कार्यसम्पादनद्वारा अर्को गौरवमय उपलब्धि हात पार्दै मुलुकभरबाट उत्कृष्ट पहिचान बनाउन सफल भएको छ। शहरी विकास मन्त्रालय अन्तर्गत सञ्चालित नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजना बाट विनियोजित बजेटको कार्यसम्पादन मूल्याङ्कनमा लम्कीचुहा नगरपालिकाले पहिलो स्थान हासिल गरेको हो।

नगरपालिकाले उक्त उपलब्धिलाई समर्पण, पारदर्शिता र उत्तरदायित्वको संयुक्त प्रयासको प्रतिफल भन्दै सबै सम्बन्धित पक्षलाई धन्यवाद ज्ञापन गरेको छ। नगर प्रमुखद्वारा जारी गरिएको धन्यवाद सन्देशमा शहरी विकास मन्त्रालय, आयोजना कार्यालय, इन्जिनियर, कर्मचारी, जनप्रतिनिधि तथा समुदायको प्रत्यक्ष–अप्रत्यक्ष योगदानप्रति गहिरो आभार प्रकट गरिएको छ।
नगर प्रमुखले भने, “यो सफलता हाम्रो सामूहिक प्रतिबद्धता र पारदर्शी कार्यशैलीको नतिजा हो। हामी आगामी दिनमा अझ प्रभावकारी सेवा र दिगो विकासका लागि निरन्तर अग्रसर भइरहनेछौं।”
लम्कीचुहा नगरपालिका पछिल्ला वर्षहरूमा पूर्वाधार, शहरी योजना र सेवाप्रवाहमा उल्लेखनीय सुधार गर्दै आएको छ। बजेटको प्रभावकारी कार्यान्वयनले नगरपालिकाको कार्यक्षमता र शासकीय प्रभावकारिता पनि देखाएको छ।




