क्षितिज जैसी,लम्कीचुहा

लम्किचुहा– खेलकुद क्षेत्रमा लम्किचुहा नगरपालिकाले गर्व गर्न लायक ठूलो सफलता हात पारेको छ। श्रीलंकामा आयोजना हुन लागेको SAFF U-17 च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय U-17 फुटबल टोलीको अन्तिम टोलीमा लम्किचुहाका उदीयमान खेलाडी धिरज रावलको नाम समावेश भएको छ।
फुटबल क्षेत्रमै समर्पित भएर निरन्तर मेहनत गर्दै आएका धिरजले यस स्तरको प्रतियोगितामा राष्ट्रिय टोलीबाट नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनु, खेलकुद प्रेमी लम्किचुहावासीका लागि गौरवको विषय बनेको छ। स्थानीय स्तरदेखि विभिन्न क्षेत्रीय प्रतियोगितामा आफ्नो प्रतिभा देखाउँदै आएका धिरजलाई अब अन्तर्राष्ट्रिय मैदानमा नेपालको झण्डा बोकेर खेल्ने अवसर मिल्नु उनको मेहनत र लगनशीलताको प्रतिफल हो।
श्रीलंकामा हुन लागेको SAFF U-17 च्याम्पियनसिप दक्षिण एसियाली मुलुकहरूबीचको प्रतिष्ठित प्रतियोगिता मानिन्छ। यस प्रतियोगिताले युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय अनुभवसँगै भविष्यमा राष्ट्रिय सिनियर टोलीमा प्रवेश गर्ने आधार बनाउने विश्वास गरिन्छ।
लम्किचुहा नगरवासी, खेलकुदप्रेमी, शुभचिन्तक र परिवारजनले धिरजलाई हार्दिक बधाई तथा आगामी खेल जीवनमा अझ उच्च सफलता प्राप्त गर्न शुभकामना व्यक्त गरेका छन्। नगरको नाम, जिल्लाको गौरव र नेपालको प्रतिष्ठा बढाउन धिरजले उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा गरिएको छ।
हामी सबैले धिरज रावललाई शुभकामना दिँदै, उनी मार्फत नेपालले उत्कृष्ट उपलब्धि हासिल गरोस् भन्ने आशा गरेका छौँ।




