यज्ञराज जैशी भजनी,

कैलालीको जोशीपुर गाउँपालिकामा Gen-Z आन्दोलन शान्तिपूर्ण ढंगले सम्पन्न भएपछि गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरीको पहलमा धन्यवाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले पालिकाले कतै गल्ती गरेका भए सच्याउँदै सद्भाव कायम राख्न कार्यक्रम आयोजना गरेको बताए । “जोशीपुर हामी सबैको हो, सहकार्य र हातेमालो भए विकास सम्भव छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा सहभागी विभिन्न दल, संगठन र सरोकारवालाले आफ्ना धारणा राखेका थिए ।
युवा संजाल अध्यक्ष सन्तोष वि.क ले पालिकामा ४ वर्ष पुग्दासमेत सार्वजनिक सुनुवाइ नभएको र कर्मचारीतर्फ समेत भ्रष्टाचार बढिरहेको बताए ।
बजार व्यवस्थापन समितिका अध्यक्ष विष्णु डङौरा ले कर्मचारीतन्त्र हावी भई तालिम र कार्यक्रमहरू कर्मचारी लक्षित मात्र हुने गरेको आरोप लगाए ।
पत्रकार धर्मेन्द्र बिष्ट ले राष्ट्रिय परिचयपत्र सडकमा फालिएका घटना जनाउँदै प्रहरीको सहयोगमा जोशीपुरमा आन्दोलन शान्तिपूर्ण भएको बताए ।
नेकपा प्रतिनिधि जित बहादुर पुन मगर ले सामाजिक सञ्जाल बन्द नगरेको भए यस्तो अवस्था नआउने उल्लेख गर्दै अब समन्वयमा अघि बढ्नुपर्नेमा जोड दिए ।
नागरिक उन्मुक्ति पार्टीका जित बहादुर चौधरी ले पालिकाको सम्पत्तिमा कुनै क्षति नभएकोमा धन्यवाद व्यक्त गरे ।
रास्वपाका विनोद चौधरी ले ३ वर्षपछि अध्यक्षले सम्पर्क गरेकोमा खुशी व्यक्त गर्दै जनताले महसुस गर्ने खालको विकास नभएको बताए ।
माओवादी केन्द्रका अध्यक्ष दीर्घबहादुर सोडारी ले आन्दोलनपछि धन्यवाद कार्यक्रम हुनु सकारात्मक भएको बताए ।
एमालेका गणेश पाठक ले “जोशीपुरबासीले अझै १ वर्ष मौका दिएको छ” भन्दै सचेत रहन आग्रह गरे ।
नेपाली कांग्रेसका विश्वनाथ चौधरी ले Gen-Z आन्दोलनले देश संकटबाट वचन सफल भएको बताए ।
जोशीपुर सुनचाँदी व्यवसायी संघ अध्यक्ष शेखर श्रीपाइली ले Gen-Z पुस्ताले देशमा परिवर्तन ल्याएको बताए ।
पत्रकार खेमराज जोशी ले स्वास्थ्य चौकीमा डाक्टर नहुँदा समस्या भईरहेको, एम्बुलेन्स र चालक अभाव रहेको बताए ।
यसैबीच, प्रमुख प्रशासकीय अधिकृत अमित कुमार शाहले “चन्दा आतंक बन्द गर्नुस्, हामी विकास गर्नका लागि जागिरमा आएका हौं, देश बनाउन सहयोग गर्नुपर्छ” भन्दै कर्मचारी कानुनअनुसार काम गर्ने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा गाउँपालिकाभित्रका राजनीतिक दलका प्रतिनिधि, युवा संजाल, वडा जनप्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।




