यज्ञ राज जैसी लम्की/ असोज २२

जैविक विविधताको संरक्षण, सामुदायिक स्रोतको दिगो व्यवस्थापन, रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्दै स्थानीय समुदायलाई सशक्त बनाउने उद्देश्यले बृटिस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाद्वारा सञ्चालित “जिविकोपार्जन र जैविक विविधताका लागि समुदायको सशक्तीकरण परियोजना” अन्तर्गत टीकापुर नगरपालिका वडा नम्बर ७ मा लाभग्राही छनौट सम्बन्धी छलफल, फिल्ड अनुगमन तथा डल्फिन अवलोकन कार्यक्रम मंगलबार सम्पन्न भएको छ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति लोकराज जोशी, उपकोषाध्यक्ष रंगप्रसाद तिमिल्सैना, जिल्ला शाखाका सदस्य टोपबहादुर केसी, नारायणपुर उपशाखा सभापति, धनसिंहपुर उपशाखा सभापति घनसरी कुमारी कोइराला, बलिया उपशाखा सभापति विनोद आचार्य, टीकापुर नगरपालिका वडा नम्बर ७ की वडा सचिव कमला पोख्रेल, परियोजनाका सामाजिक परिचालक अनिता धामी लगायतका स्वयंसेवकहरूको उपस्थितिमा छलफल तथा फिल्ड अनुगमन कार्य सम्पन्न भएको हो।
अनुगमनका क्रममा सहभागीहरूले स्थानीय समुदायमा जैविक विविधताको संरक्षण र स्रोत व्यवस्थापनका लागि रेडक्रसले सञ्चालन गर्दै आएको कार्यक्रमको स्थलगत अवलोकन गरेका थिए।
साथै, समुदायमा प्रकृतिको संरक्षण गर्दै रोजगारी र आयआर्जनका अवसरहरू कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरूबीच विस्तृत छलफल भएको थियो।
जिल्ला शाखाका सभापति लोकराज जोशीले समुदायमै आधारित कार्यक्रमहरूद्वारा स्थानीय जनताको जीवनस्तरमा सुधार ल्याउन सकिने विश्वास व्यक्त गर्दै रेडक्रसको भूमिकालाई अझ प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले जैविक विविधताको संरक्षणले वातावरणीय सन्तुलन मात्र होइन, स्थानीय आर्थिक सशक्तीकरणमा समेत टेवा पुर्याउने धारणा राख्नुभयो।
त्यस्तै, जिल्ला शाखाका उपकोषाध्यक्ष रंगप्रसाद तिमिल्सैनाले परियोजनाले समुदायमा आत्मनिर्भरता र वातावरणीय सचेतना दुवै बढाउने विश्वास व्यक्त गर्दै स्थानीय सरकार, समुदाय र रेडक्रसबीचको सहकार्यले मात्र दिगो विकास सम्भव हुने उल्लेख गर्नुभयो।
कार्यक्रमका क्रममा टीकापुर क्षेत्रमा रहेको काडा र पथरैया नदीमा डल्फिनको अवलोकन पनि गरिएको थियो। सहभागीहरूले अवलोकनमार्फत नदीमा पाइने दुर्लभ प्रजातिहरूको संरक्षणमा समुदायले निभाउन सक्ने भूमिकाबारे पनि अनुभव साटासाट गरेका थिए।
“जिविकोपार्जन र जैविक विविधताका लागि समुदायको सशक्तीकरण” परियोजना बृटिस रेडक्रसको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोष संगको सहकार्यमा कैलाली जिल्लाका ५ स्थानीय तहहरूमा सञ्चालनमा रहेको परियोजनाका कैलाली जिल्ला संयोजक एवम् नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका शाखा किकास अधिकारी नरेन्द्र भट्टले बताउनुभयो ।
परियोजनाले जैविक विविधता संरक्षणसँगै स्थानीय स्रोतको दिगो उपयोग, महिला सशक्तीकरण, विपन्न वर्गका लागि सीपमूलक तालीम, र जीवनयापनमा सुधार ल्याउने कार्यक्रमहरूलाई समेत प्राथमिकता दिएको र
कार्यक्रमले समुदायमा वातावरणीय सचेतना, आर्थिक स्वावलम्बन र प्राकृतिक स्रोतप्रति उत्तरदायित्व बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको “जिविकोपार्जन र जैविक विविधताका लागि समुदायको सशक्तीकरण” परियोजना केन्द्रिय कार्यालयका कार्यक्रम व्यवस्थापक उमेश ढुंगानाले बताउनुभयो ।






