क्षितिज जैसी लम्कीचुहा
कैलाली: लम्किचुहा नगरपालिका १ मोतिपुर चोकस्थित हाटबजार मैदानमा ख्रिष्टियन सांस्कृतिक कार्यक्रम २०८२ भव्य रूपमा आयोजना हुने भएको छ। लम्किचुहा नगर ईसाई समाजको आयोजनामा हुने यो कार्यक्रम आगामी कार्तिक ७ गते शुक्रबार बिहान ११ बजेदेखि सुरु हुनेछ।

“दाजुभाइ एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ” भन्ने पवित्र बाइबलको गहिरो सन्देशलाई आत्मसात गर्दै र “लम्की क्षेत्रको पहिचान गराउने हाम्रो चाहना” भन्ने मूल नाराका साथ कार्यक्रम आयोजना गर्न लागिएको हो। 
कार्यक्रमको औपचारिक जानकारी आज सौराई होटलमा आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो। पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक पास्टर चेतराज जोशीले यो कार्यक्रम धार्मिक सहिष्णुता, आपसी सद्भाव र सामुदायिक एकता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको बताउनुभयो। उहाँका अनुसार कार्यक्रमले लम्की क्षेत्रको सांस्कृतिक र आध्यात्मिक पहिचान उजागर गर्नेछ।
कार्यक्रममा नेपाल आइडल २०२४ का विजेता करण परियार र लोकप्रिय गायिका अनु चौधरीले विशेष प्रस्तुति दिने छन्। साथै, स्थानीय चर्चका कोयर समूह, नृत्य टोली र सांस्कृतिक झाँकीहरू समेत प्रस्तुत गरिनेछन्।
दर्शक तथा सर्वसाधारणका लागि प्रवेश पूर्ण रूपमा निःशुल्क रहनेछ। 
आयोजकले सबैलाई कार्यक्रममा सहभागी भई एकता, प्रेम र आत्मिक आनन्दको वातावरण सँगै लम्की क्षेत्रको गौरव सँगसँगै मनाउन आग्रह गरेको छ।






