क्षितिज जैसी,लम्कीचुहा

कैलालीको लम्कीचुहा नगरपालिका-१ स्थित कालिका माध्यमिक विद्यालयले नगरस्तरीय विद्यालय प्रमुख तथा राष्ट्रपति खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ। 
राष्ट्रिय नमुना माध्यमिक विद्यालय मोतिपुरको खेलमैदानमा मंसिर २८ देखि पुस ६ गतेसम्म चलेको प्रतियोगितामा उल्लेखनीय सफलता प्राप्त गरेका विद्यार्थीलाई विद्यालयमै आयोजित कार्यक्रममार्फत नगद, प्रमाणपत्र र मेडल प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख आकर्षण भलिबल खेलतर्फ गौरी बिक जिल्ला स्तरमा छनोट भएका छन् । त्यस्तै कबड्डी छात्रातर्फ उत्कृष्ट प्रदर्शन गर्दै उर्मिला देवकोटा पनि जिल्ला छनोटमा पर्ने उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भइन्। विद्यालय परिवारले दुबै खेलाडीलाई भव्य सम्मान गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ। 
पुरस्कार वितरण कार्यक्रम कालिका माध्यमिक विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक रामप्रसाद तिमिल्सैनाको सभापतित्वमा सम्पन्न भएको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रप्रसाद आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमको सञ्चालन शिक्षक सिद्धराज जोशीले गर्नुभएको थियो।
प्रतियोगितामा कालिका माध्यमिक विद्यालयले प्रभावशाली सहभागिता जनाउँदै कक्षा ११–१२ छात्रा कबड्डीमा प्रथम, तथा कक्षा ९–१० छात्र भलिबलमा द्वितीय स्थान हासिल गरेको विद्यालयका सहायक प्रधानाध्यापक धर्मराज खनालले जानकारी दिनुभयो। 
यो उपलब्धिले विद्यालय र खेलाडीहरूको हौसला थप वृद्धि गरेको विद्यालय पक्षको भनाइ छ।




