कैलाली लम्की क्षितिज जैसी— सुदूरपश्चिमस्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको रोकिएको बजेट सुचारु गर्ने तथा विश्वविद्यालयको स्तरोन्नतिका विषयमा आज महत्वपूर्ण छलफल सम्पन्न भएको छ।

उपकुलपति प्रो. डा. सुनिलकुमार जोशी, रजिस्ट्रार डा. खेमराज जोशी लगायतको टोलीसँग शिक्षा, विज्ञान, प्रविधि तथा युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल र प्रतिनिधि सभा सदस्य केपी खनालबीच विश्वविद्यालयको वर्तमान अवस्था र आगामी कार्ययोजनाबारे विस्तृत छलफल भएको हो। 
छलफलमा अस्पतालको क्षमता विस्तार गर्दै हाल १०० शय्याबाट ३०० शय्यामा पुर्याउने विषयमा सहमति भएको छ। साथै, आगामी शैक्षिक सत्रदेखि एमबीबीएस (५० सिट), नर्सिङ (३० सिट), बीएस्सी एमएलटी (२० सिट) र अप्थाल्मोलोजी (२० सिट) कार्यक्रम सञ्चालन गर्ने तयारी अगाडि बढाइएको जनाइएको छ।
यी कार्यक्रम सञ्चालनका लागि करिब २ अर्ब ५८ करोड रुपैयाँको आर्थिक सुनिश्चिततामा समेत पहल गरिएको छ।
यस्तै, सिनेट बैठक बस्न नसक्दा रोकिएको ४३ करोड रुपैयाँ बजेटलाई यथाशीघ्र परिचालन गर्न शिक्षा मन्त्रालयसँग समन्वय गरी छिट्टै बैठक आयोजना गर्ने निर्णय गरिएको छ।

छलफलले सुदूरपश्चिममै गुणस्तरीय स्वास्थ्य शिक्षा र सेवा विस्तारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।




