यज्ञराज जैसी भजनी,

कैलालीको भजनी नगरपालिकामा मेयर कप फुटबल प्रतियोगिता भव्य रूपमा उद्घाटन गरिएको छ।
भजनी नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा सम्पन्न उद्घाटन समारोह खेलकुद विकास समितिका अध्यक्ष तथा वडा नं. ९ का अध्यक्ष सञ्जीव कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको हो।
उक्त समारोहमा भजनी नगरपालिका नगर प्रमुख केवल चौधरी प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा नगर उप–प्रमुख राजु तिरुवा, प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्ट लगायतको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रमको स्वागत मन्तव्य कैलाली जिल्ला फुटबल संघका सदस्य तथा नगर खेलकुद विकास समिति सदस्य दिनेश कुमालले व्यक्त गर्नुभएको थियो।
त्यसैगरी समाजसेवी अर्जुन शोभ, प्याब्सन भजनीका अध्यक्ष खडक बुढा तथा प्याब्सनकैलालीका उपाध्यक्ष राज बहादुर बुढाले शुभकामना मन्तव्य राख्दै प्रतियोगिताको सफलताको कामना व्यक्त गर्नुभयो। 
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख केवल चौधरीले भजनीमा खेलकुद क्षेत्रको समग्र विकासका लागि आगामी आर्थिक वर्षमा रंगशाला निर्माण तथा आवश्यक पूर्वाधार विकासका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले खेलाडीहरूलाई अनुशासन, खेल भावना र मर्यादालाई आत्मसात् गर्दै उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्नुभयो।
उक्त कार्यक्रमको सञ्चालन दम्मर दत्त जैसीले गर्नुभएको थियो।
उद्घाटन खेल वडा नं. ४ (A) र वडा नं. २ बीच सम्पन्न भएको थियो। प्रतिस्पर्धात्मक खेलमा वडा नं. ४ (A) ले २–१ गोल अन्तरले विजय हासिल गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।




