कैलाली लम्की क्षितिज जैसी

नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको आयोजना तथा युवा रेडक्रस सर्कल राष्ट्रिय मावि डहरबेरिया ,कैलालीको आतिथ्यतामा हुने कैलाली जिल्ला स्तरीय ४०औं जुनियर, युवा रेडक्रस गोष्ठीको तयारीका लागि छलफलको आयोजना गरिएको छ । आगामी मिति २०८२ साल कार्तिक २१ र २२ गते जोशीपुर गाउँपालिका वडा नम्बर ४, डहरबेरियामा रहेको राष्ट्रिय मा.विमा संचालन हुने उक्त गोष्ठीलाई सफल पार्नका लागि आज बुधबार सरोकारवालाहरुबिच छलफल आयोजना गरिएको हो ।
आतिथ्य सर्कल राष्ट्रिय मावि डहरबेरियाका प्रधानाध्यापक एवं संरक्षक लिलाराम ओलीको सभापतित्वमा गोष्ठी तयारीका विषयमा विद्यालयमा आयोजना गरिएको छलफल कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका उपकोषाध्यक्ष एवम् जुनियर युवा रेडक्रस समिति कैलालीका संयोजक रंगप्रसाद तिमिल्सैनाले रेडक्रसको मेरुदण्डको रुपमा रहेको जुनियर तथा युवा सर्कलको क्षमता विकास गर्नका लागि जिल्ला स्तरीय जुनियर युवा गोष्टिले महत्वपूर्ण भुमिका खेल्ने बताउँदै गोष्ठीको आतिथ्यताको जिम्मा लिने विद्यालय परिवारलाई धन्यवाद दिनुभएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कैलालीका सभासद एवम् प्रतापपुर उपशाखा सभापति खडक चौधरीले स्थानीय श्रोत साधनको प्रयोग गरि जिम्मेवारी बाडफाड गर्दै गोष्ठी संचालक गर्नुपर्ने बताउँदै रेडक्रसको परम्परा अनुसार सबैको पारस्परिक सहयोगमा गोष्ठीलाई सफल बनाउनु पर्ने धारणा राख्नुभएको थियो ।
छलफल कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लिलाराम ओलीले जिल्ला स्तरीय जुनियर, युवा रेडक्रस गोष्ठी कार्यक्रमको जोशीपुर गाउँपालिकामा पहिलोपटक आतिथ्यता गर्न पाउनु अवसर भएको बताउनुभयो । 
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जोशीपुर उपशाखाका सभापति विक्रम चौधरीले जोशीपुर गाउँपालिकामा पहिलोपटक आयोजना गर्न लागेकोले सबैको सहयोगले सफल बनाउन उपशाखा प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा जोशीपुर उपशाखाका सचिव राजाराम चौधरी , उपशाखा कोषाध्यक्ष राजेश चौधरी, जानकी उपशाखाका उपसचिव कमलराज भाट लगायत विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।
रेडक्रस अभियानका बारेमा जानकारी दिन, जुनियर तथा युवा रेडक्रस सर्कलको काम कर्तव्य र अधिकारका बारेमा जानकारी गराउन तथा विपद व्यवस्थापन सम्बन्धि अभिमुखिकरण गराउन हरेक वर्ष जिल्ला स्तरीय जुनियर युवा रेडक्रसको गोष्ठी संचालन हुँदै आएको नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका उपकोषाध्यक्ष एवम् जुनियर, युवा रेडक्रस समितिका संयोजक रंगप्रसाद तिमिल्सैनाले जानकारी दिनुभएको छ ।
यस वर्षको जिल्ला स्तरीय जुनियर,युवा रेडक्रस गोष्ठीमा रेडक्रस , विपद, रक्तसञ्चार , रक्तदान लगायतका विषयमा राष्ट्रिय स्तरका ख्यातिप्राप्त व्यक्तित्व तथा कलाकारहरुको टोलीको समेत प्रस्तुति रहने नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति लोकराज जोशीले जानकारी दिनुभएको छ ।






