कैलाली जिल्लाको लम्कीचुहा नगरपालिकामा सञ्चालन गरिएको विद्यालय स्तरीय नगरप्रमुख तथा राष्ट्रपति खेलकुद प्रतियोगिता २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। नगरपालिकाभित्रका सामुदायिक तथा निजी विद्यालयहरूबीच विद्यार्थीको खेलकुद प्रतिभा पहिचान, शारीरिक तथा मानसिक विकास र अनुशासन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिता मङ्सिर २८ गतेदेखि सुरु भई पुष ६ गते औपचारिक रूपमा समापन भएको हो।

प्रतियोगिताको समग्र नतिजाअनुसार उज्यालो शिक्षा सदन लम्कीचुहा प्रथम स्थान हासिल गर्न सफल भएको छ। त्यसैगरी राष्ट्रिय माध्यमिक विद्यालय बल्चौर दोस्रो स्थानमा रहँदा जनजागृति माध्यमिक विद्यालय चौरी तेस्रो स्थान हासिल गर्न सफल भएको छ। विजयी विद्यालयहरूलाई ट्रफी, प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो।
उक्त प्रतियोगितामा सहभागी विद्यालयहरूलाई प्राथमिक विद्यालय (प्रावि), निम्न माध्यमिक विद्यालय (निमावि), माध्यमिक विद्यालय कक्षा ९–१० तथा माध्यमिक विद्यालय कक्षा ११–१२ गरी चार समूहमा विभाजन गरी विभिन्न खेल विधामा प्रतिस्पर्धा गराइएको थियो। विभिन्न उमेर समूहका विद्यार्थीहरूको उत्साहजनक सहभागिताले प्रतियोगितालाई थप जीवन्त बनाएको थियो। 
समापन समारोह खेलकुद समिति सदस्य सन्तोषकुमार ओलीको सभाध्यक्षता मा सम्पन्न भएको कार्यक्रममा लम्कीचुहा नगरपालिकाकी नगरप्रमुख सुशीला शाही प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रममा बोल्दै नगरप्रमुख शाहीले खेलकुदमा लागेका भाइबहिनीहरू सकेसम्म लागू औसत दुर्वेशनीमा लाग्दैन, खेलकुद आफैंमा अनुशासन भएका कारणले खेलकुदमा लागेका भाइबहिनीहरू एकदमै अनुशासित बस्ने भएकाले लम्कीचुहा विद्यालयमा रहेका धेरैभन्दा धेरै विद्यार्थीहरूले खेलकुदमा भाग लिउन भन्ने हाम्रो चाहना रहेको बताउँदै खेलाडीहरूलाई शुभकामना तथा बधाई दिनुभएको थियो।
समारोहमा नगरपालिकाका उपप्रमुख, नगरभित्रका १० वटै वडाका वडा अध्यक्षहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, शिक्षक, विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी अतिथिहरूले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा आयोजकलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। 
प्रतियोगिता राष्ट्रिय नमुना माध्यमिक विद्यालय मोतीपुरको खेलमैदान मा सञ्चालन गरिएको थियो भने कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक विष्णुप्रसाद खनाल ले गर्नुभएको थियो। प्रतियोगिताको सफल आयोजनाले लम्कीचुहा नगरपालिकामा विद्यालयस्तरीय खेलकुद विकासमा थप ऊर्जा थपिएको सरोकारवालाहरूले बताएका छन्।




