क्षितिज जैसी, कैलाली लम्कीचुहा

लम्कीमा पौष २७ गते ‘ट्र्यास कलेक्सन रेस’ प्रतियोगिता आयोजना हुने भएको छ। मैनादेवी फाउन्डेसन, काठमाडौंको आयोजनामा हुन लागेको उक्त कार्यक्रम वातावरण संरक्षण र सरसफाइप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ।
प्रतियोगिता खुल्ला प्रतियोगिताका रूपमा सञ्चालन हुनेछ, जसमा इच्छुक सबैले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई प्रथम पुरस्कार ५० हजार रुपैयाँ प्रदान गरिनेछ भने द्वितीय र तृतीय स्थान हासिल गर्ने टिमलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ। 
मैनादेवी फाउन्डेसनले लामो समयदेखि काठमाडौं लगायत देशका विभिन्न स्थानमा ‘ट्र्यास कलेक्सन रेस’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। यस कार्यक्रममार्फत फोहोर व्यवस्थापन, सरसफाइ संस्कृतिको विकास र वातावरणीय जिम्मेवारीबारे समुदायलाई सचेत गराउँदै आएको फाउन्डेसनको भनाइ छ।
उक्त प्रतियोगितामा विद्यार्थीहरूको सक्रिय सहभागिता भएमा कार्यक्रम अझ प्रभावकारी र सफल हुने आयोजकको अपेक्षा छ। विद्यार्थीहरूको सहभागिताले सरसफाइप्रति सकारात्मक सोच र व्यवहार विकास हुनुका साथै वातावरण संरक्षणप्रति उनीहरू थप आकर्षित हुने विश्वास गरिएको छ। यसले बालबालिका तथा युवापुस्तामा स्वच्छ वातावरणप्रति जिम्मेवारी बोध गराउँदै दीर्घकालीन रूपमा सरसफाइ संस्कृतिको विकासमा टेवा पुग्ने आयोजकले जनाएको छ।
लम्कीमा आयोजना हुने उक्त प्रतियोगितामा मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनालको नेतृत्वमा टिम सहभागी हुने बताइएको छ। आयोजकले स्थानीय तह, युवा समूह र सरोकारवालाहरूलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।




