कैलाली लम्कीचुहा, क्षितिज जैसी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य केपी खनाल आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने चर्चा राजनीतिक वृत्तमा तीव्र बनेको छ। सुदूरपश्चिम क्षेत्रबाट उदाउँदै गरेका युवा नेता खनालको सम्भावित उम्मेदवारीलाई पार्टीभित्र र बाहिर दुवै ठाउँमा चासोका साथ हेरिएको छ। 
रास्वपाका केन्द्रीय सदस्य केपी खनाल पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भएको आपसी सहमतिपछि ‘बालेनको कोटा’ बाट केन्द्रीय सदस्यमा मनोनीत भएका थिए। उक्त मनोनयनपछि खनाल राष्ट्रिय राजनीतिमा थप चर्चामा आएका हुन्। युवा, इमान्दार र सामाजिक सेवामा लामो समयदेखि सक्रिय व्यक्तित्वका रूपमा परिचित खनाललाई पार्टीले भविष्यको नेतृत्वका रूपमा अघि सार्न खोजेको विश्लेषण पनि हुन थालेको छ।
खनालले सामाजिक सेवाको माध्यमबाट आफ्नो राजनीतिक पहिचान बनाउँदै आएका छन्। उनले स्थापना गरेको मैनादेवी फाउन्डेसनमार्फत देशैभर सरसफाइ अभियान सञ्चालन गर्दै आएका छन्। वातावरण संरक्षण, स्वच्छता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै उनले विभिन्न जिल्लामा जनचेतनामूलक कार्यक्रमहरू गर्दै आएका छन्। विशेषगरी युवालाई सामाजिक अभियानमा जोड्ने उनको प्रयासले धेरैको ध्यान आकर्षित गरेको छ।
सानै उमेरदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका खनाल असहाय, विपन्न र पछाडि परेका समुदायका लागि आवाज उठाउँदै आएका व्यक्ति हुन्। राजनीतिक पदभन्दा सेवाभावलाई प्राथमिकतामा राख्ने उनको छविले कैलाली क्षेत्र नम्बर २ का मतदातामाझ सकारात्मक सन्देश गएको स्थानीयहरूको भनाइ छ।
यदि केपी खनाल प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बने भने सुदूरपश्चिमबाट रास्वपाको उपस्थितिलाई थप बल पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी नयाँ राजनीतिक संस्कार, पारदर्शिता र जवाफदेहिताको मुद्दा बोकेर चुनावी मैदानमा उत्रिएमा खनाल युवा तथा सचेत मतदाताको रोजाइ बन्न सक्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ।
हालसम्म पार्टीको औपचारिक निर्णय नआए पनि केपी खनालको सम्भावित उम्मेदवारीले कैलालीको राजनीतिक माहोल तातेको छ। आगामी दिनमा रास्वपाले कस्तो निर्णय लिन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।




