कैलालीको भजनी नगरपालिकाभित्रका विभिन्न क्लबमा आबद्ध ७५ जना खेलाडी तथा खेलकर्मीहरूले संयुक्त रूपमा हस्ताक्षर संकलन गर्दै नगरपालिकाको ध्यानाकर्षण गराएका छन्। उनीहरूले खुल्ला पुरुष फुटबल प्रतियोगिता २०८२ लाई वडा स्तरमै सञ्चालन गर्नुपर्ने माग राखेका हुन्। 
स्थानीय खेलाडीहरूको क्षमता विकास, सीप अभिवृद्धि तथा प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्न वडा-वडाबाट टिम तयार गरी नगरस्तरीय उत्कृष्ट टिम छनोट गर्नुपर्ने उनीहरूको भनाइ छ। भजनीका खेलाडीहरूले जिल्ला, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म उत्कृष्ट प्रदर्शन गरिसकेको उल्लेख गर्दै उनीहरूको भविष्य निर्माणमा स्थानीय सरकारको सक्रिय भूमिका आवश्यक रहेको जोड दिइएको छ।


गत आर्थिक वर्षमा नगर खेलकुद विकास समितिबाट कुनै उल्लेखनीय प्रतियोगिता सञ्चालन नभएको र चालू आर्थिक वर्षमा पनि सीमित गतिविधि मात्रै भएकोप्रति हस्ताक्षरकर्ताहरूले असन्तुष्टि जनाएका छन्।
यस्तो अवस्थामा आधारस्तरबाटै खेलाडी उत्पादन गर्न वडा स्तरको प्रतियोगिता अपरिहार्य रहेको उनीहरूको निष्कर्ष छ।
खेलकर्मीहरूले फुटबलसहित अन्य खेलकुद गतिविधिहरू पनि नियमित रूपमा सञ्चालन गर्न आग्रह गर्दै यस अभियानमा आफूहरूको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन्।




