भजनी: जोशीपुर गाउँपालिका अध्यक्षमाथि अन्जान व्यक्तिद्वारा कालो मसी छर्किएको घटनाले स्थानीय तहमा खैलाबैला मच्चिएको छ। उक्त घटनाको विरोधमा भजनी नगरपालिकाले आधिकारिक विज्ञप्ति जारी गर्दै दोषी व्यक्तिलाई यथाशीघ्र पहिचान गरी कानुनी कारबाहीको माग गरेको छ ।

नगरपालिकाले घटनालाई लोकतान्त्रिक अभ्यास र स्थानीय शासन प्रणालीमाथिको गम्भीर हमला भन्दै आपत्ति जनाएको छ। विज्ञप्तिमा भनिएको छ, “निर्वाचित जनप्रतिनिधिमाथि यस प्रकारको अपमानजनक व्यवहार कुनै हालतमा स्वीकार्य छैन। यसले मुलुकको लोकतान्त्रिक अभ्यासप्रति समेत प्रश्न उठाउँछ।”
जोशीपुर गाउँपालिकाका अध्यक्ष घर फर्किनेबेला अज्ञात समुहले कालो मसी छर्किएको थियो। हालसम्म दोषीको पहिचान हुन सकेको छैन। सुरक्षाका लागि जिम्मेवार निकायले अनुसन्धान अघि बढाएको जनाएको छ।
भजनी नगरपालिकाले स्थानीय तहबीच एकता, सहकार्य र सम्मानजनक व्यवहार कायम राख्न सबैलाई आग्रह समेत गरेको छ।






