क्षितिज जैसी लम्की

कैलालीको लम्कीचुहा नगरपालिका–१, भुरूवास्थित श्री बालकल्याण माध्यमिक विद्यालयमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम विद्यालयका परीक्षा समिति संयोजक रन्जिता थापाको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रममा वडा नं. १ का वडा अध्यक्ष नेत्रप्रसाद खनाल प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो भने विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष चन्द्र प्रसाद जैशी विशिष्ट अतिथिको रूपमा सहभागी हुनुभएको थियो। यस अवसरमा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, आमा समूह, अभिभावक तथा अन्य सरोकारवालाको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो भने सम्पूर्ण विद्यार्थीलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरिएको थियो।

यसैबीच, शिक्षक सेवा आयोगमार्फत स्थायी शिक्षक पदमा नाम निकाल्न सफल भई हाल मोहन्याल गाउँपालिकास्थित भृकुटी माध्यमिक विद्यालयमा कार्यरत यस विद्यालयकी पूर्व शिक्षिका रचना रावललाई औपचारिक रूपमा विदाइ गरिएको छ। कार्यव्यस्तताका कारण मंसिर ८ गतेको विदाइ कार्यक्रममा सहभागी हुन नसक्नुभएकी रावललाई आजको कार्यक्रममा सम्मानसहित बिदाइ गरिएको हो। कार्यक्रममा उहाँको योगदानको उच्च प्रशंसा गर्दै उज्ज्वल भविष्यको कामना गरिएको थियो।
कार्यक्रममा विभिन्न वक्ताहरूले मन्तव्य राख्दै विद्यालयको शैक्षिक उन्नति, अनुशासन र गुणस्तरीय शिक्षामा जोड दिएका थिए। मन्तव्य दिनेहरूमा विद्यालय व्यवस्थापन समितिका जनक बहादुर बुढा, विदाइ शिक्षिका रचना रावल, सहायक प्रधानाध्यापक शिव बहादुर थापा, प्रधानाध्यापक धर्मा बयक क्षेत्री, विशिष्ट अतिथि चन्द्र प्रसाद जैशी तथा प्रमुख अतिथि नेत्रप्रसाद खनाल रहनुभएको थियो।
कार्यक्रम समग्रमा उत्साहपूर्ण र सफलतापूर्वक सम्पन्न भएको विद्यालयले जनाएको छ।




