यज्ञराज जैशी

भजनी, कैलाली – जेष्ठ १४
भजनी नगरपालिका–१ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा एक दिने शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सफलतापूर्वक सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालय, राजपुर डोटीको सहकार्यमा सम्पन्न उक्त शिविरमा बालबालिकादेखि युवासम्मका सेवाग्राहीहरूले सेवा प्राप्त गरेका छन्।
शिविरको आयोजना अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र (HRDC) बनेपा, भजनी नगरपालिका, र विकलांग मित्र समूहको संयुक्त पहलमा गरिएको हो । शिविरमा १८ वर्षमुनिका अपाङ्गता भएका बालबालिकाहरूको विस्तृत स्वास्थ्य परीक्षण गरिनुका साथै अन्य आवश्यक सेवा पनि प्रदान गरिएको थियो।
शिविरमा अपाङ्गता भएका बालबालिकाहरूको हाडजोर्नी तथा स्नायुसम्बन्धी समस्या, क्लब फूट, ओठ तथा तालु चिरा, अनुहार, कान र नाकमा देखिने विकृति, हिडडुल गर्न गाह्रो हुने अवस्था लगायतको परीक्षण गरिएको थियो।
शिविरमा फिजियोथेरापी सेवा, निःशुल्क औषधि वितरण, कृतिम अङ्ग तथा सहायक सामग्रीको नाप–जाँच, र विशेषज्ञ चिकित्सकबाट आवश्यक परामर्श सेवा समेत प्रदान गरिएको थियो।
शिविरमा जम्मा ७१ जनाले सेवा प्राप्त गरेका थिए, जसमा (३१ पुरुष र ४० महिला बालबालिका) रहेकाछन ।
भजनी नगरपालिकाका नगरप्रमुख केवल चौधरीको सभाध्यक्षमा उक्त कार्यक्रम भएको हो । महिला बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख रिजुचुकाह चौधरी, स्वास्थ्य शाखा प्रमुख कैलास डङौरा थारु, प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर सुरेश चौधरी लगायतको सहभागिता रहेको थियो।
नगरप्रमुख चौधरीले शिविरमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मी, स्वयंसेवक र संस्थाप्रति आभार प्रकट गर्दै दोसल्ला ओढाएर धन्यवाद दिएका थिए। साथै, अपाङ्गता बाल अस्पताल तथा पुनःस्थापना केन्द्र HRDC का संयोजक नेत्र बहादुर देउजालाई सम्मानपत्र र खादा अर्पण गर्दै विशेष सम्मान गरेका थिए ।
कार्यक्रमको समीक्षा गर्दै संयोजक देउजाले शिविरको प्रगति विवरण प्रस्तुत गरेका थिए । उनले भजनी नगरपालिका र स्थानीय तहको साथ, सहयोग र समन्वयका आधारमा आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सकिने बताउँदै, नगरपालिकाबाट निरन्तर सहयोगको अपेक्षा रहेको बताए ।
समापन मन्तव्यमा नगरप्रमुख चौधरीले भने, “घरबाट बाहिर निस्कन नसक्ने फरक क्षमता भएका व्यक्तिहरूलाई सेवा पुर्याउनु हामी सबैको दायित्व हो।” उनले HRDC बनेपाको सेवा उच्चस्तरीय रहेको उल्लेख गर्दै, “फरक क्षमता भएका व्यक्तिहरूले पहिले बोल्न, हिँड्न सक्नुपर्छ; त्यसपछि जीवनको अवसरहरू आफैं खुल्ने छन्” भन्ने धारणा राखे।
नगरप्रमुख चौधरीले यस्ता शिविरहरूलाई भविष्यमा समेत प्राथमिकतामा राखिने बताए र “जनतालाई कसरी प्रभावकारी सेवा दिन सकिन्छ भन्ने विषयमा नगरपालिका सक्रिय रूपमा लागेको” स्पष्ट पारे।
शिविरको समन्वयिका रिजु चुकाह चौधरीका अनुसार, भजनी नगरपालिकाले आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई प्राथमिकतामा राख्ने बताईन।




