कैलाली भजनी, असार ५ –यज्ञराज जैसी

सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण, हेडक्वार्टर कैलालीको आयोजनामा भजनी नगरपालिकाको सभाहलमा सीमावर्ती बासिन्दासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
“सीमावासीसँग सशस्त्र प्रहरी अन्तरक्रिया कार्यक्रम” शीर्षकमा आयोजना गरिएको उक्त कार्यक्रम सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र राज रन्जितको सभाध्यक्षता तथा भजनी नगरपालिका नगरप्रमुख केवल चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
भजनी नगरपालिकाका उपप्रमुख राजु तिरुवा, प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपाने, विभिन्न वडाका अध्यक्ष तथा वडा सदस्य, पत्रकार, समाजसेवी, व्यापारी, सशस्त्र प्रहरी निरीक्षक लगायतको सहभागीता रहेको थियो।
सीमा सम्बन्धी उठेका विषयहरू
भजनी नगरपालिका वडा नं. ३ का अध्यक्ष तथा प्रवक्ता बिक्रम चौधरीले कुसुमघाट पहिले रेड लिस्टमा रहेको र अहिले BOP स्थापना भएपछि सुरक्षामा केही सुधार भएको बताएका थिए।
उनले मलखादको अभावबारे बोल्दै भने, “सरकारले सु.प प्रदेशलाई उपलब्ध गराउने १७% मल खादमध्ये कैलालीको ५२% हुनआउछ। १३ स्थानीय तहलाई भागा लगाए भजनी नगरपालिकाले १०% मात्र पाउँछ। तर यहाँका किसानलाई वार्षिक ४३ हजार क्विन्टल मल खाद चाहिन्छ।”
त्यस्तै वडा नं. ५ का अध्यक्ष केशब बुढाले अघिल्लो वर्षहरूमा मलखाद तस्करी व्यापक रहेको, तर अहिले त्यो अवस्था न्यून भएको जानकारी गराए।
भजनीका BOP गुलरिया गुल्मका नायब उपरीक्षक फरेन्द्र के.सीले नेपाल,भारत सीमासम्बन्धी चुनौतीहरू, नियन्त्रण गरिएका अवैध क्रियाकलाप तथा नष्ट गरिएका वस्तुहरूको विवरण प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा व्यापारी नैन बहादुर चौधरी, पत्रकार गणेश क्षेत्री, वडा सदस्य राजेन्द्र खनाल लगायतले सीमामा हुने समस्या, अवैध क्रियाकलाप नियन्त्रण,सुरक्षाको सामूहिक जिम्मेवारीबारे धारणा राखेका थिए।
नगरप्रमुख केवल चौधरीले आफ्नो मन्तव्यमा सुरक्षामा खटिएका सम्पूर्ण सशस्त्र प्रहरी र सुरक्षाकर्मीलाई धन्यवाद दिँदै भने, “जबदेखि BOP स्थापना भयो, सीमाको अवस्था सुधारिएको छ। मैले अघिल्लो वर्ष पनि सुरक्षाकर्मीहरूलाई अनुरोध गरेको थिएँ,किसानले ल्याउने मल खाद आधा,आधा गरेर ल्याउन दिउँ, त्यसले सबै किसानलाई राहत मिल्छ।”
उनले लागूपदार्थको ओसारपसारमा समुदाय, प्रहरी र पालिकाको समन्वय आवश्यक रहेको उल्लेख गर्दै, जनताका गुनासोलाई गम्भीरतापूर्वक लिएर समाधान गर्न सबैलाई आग्रह गरे।
सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र राज रन्जितले कार्यक्रममा विभिन्न व्याक्तीबाट उठेका समस्या र जिज्ञासा बारे प्रकाशित पार्नुभएको थियो । सीमा सुरक्षाका चुनौती, तस्करी नियन्त्रण, किसानका समस्या समाधान, नागरिकको भूमिका लगायत विषयमा कार्यक्रमका सहभागीहरूसँग खुला संवाद गर्दै सरोकारवालाहरूको साथ र सहकार्यमा मात्र समस्याको दीर्घकालीन समाधान सम्भव हुने धारणा राखे।




