क्षितिज जैसी लम्की,

कैलालीको लम्कीचुहामा लम्की महोत्सव–२०८२ हुने भएको छ। लम्की उद्योग वाणिज्य संघ, कैलालीको आयोजनामा हुने उक्त महोत्सव आगामी मंसिर १० गतेदेखि २१ गतेसम्म भव्य रूपमा सञ्चालन हुने आयोजकले जनाएको छ।
शिक्षा, कृषि, पर्यटन, उद्योग र व्यापारलाई मुख्य आधार मानेर आयोजना गर्न लागिएको यस महोत्सवको नारा “समृद्ध लम्कीचुहाको आधार, शिक्षा, कृषि, पर्यटन, उद्योग र व्यापार” तय गरिएको छ। महोत्सवले लम्की क्षेत्रको आर्थिक, सांस्कृतिक र सामाजिक विकासमा योगदान पुर्याउने विश्वास आयोजक समितिले लिएको छ। 
पत्रकार सम्मेलनमार्फत आयोजक संघका अध्यक्ष पदमराज चौलागाईले कार्यक्रमका विभिन्न पक्षबारे जानकारी गराउँदै, महोत्सवमा विभिन्न स्टलहरू, मनोरञ्जनात्मक कार्यक्रम, स्थानीय उत्पादनको प्रदर्शन, राष्ट्रियस्तर देखि स्थानीयस्तरका कलाकारहरूको प्रस्तुति, कृषि तथा व्यापार मेलालगायतका आकर्षण रहने बताएका छन्।
साथै, आम सर्वसाधारणका लागि प्रवेश शुल्कसमेत तोकिएको छ।
आयोजकका अनुसार विद्यार्थीहरूका लागि टिकट दर रु.७० र अन्य सर्वसाधारणका लागि रु.१०० राखिएको छ। विद्यार्थीहरूले आफ्नो परिचयपत्र देखाएर छुट पाउने व्यवस्था गरिएको छ।
लम्की महोत्सवको तयारीमा अहिले संघका प्रतिनिधि, नगरपालिकाका अधिकारी, सुरक्षाकर्मी तथा स्थानीय समुदाय सक्रिय रूपमा जुटेका छन्। कार्यक्रमलाई व्यवस्थित, सुरक्षित र सहभागीमूलक बनाउन आवश्यक तयारी पूरा भइरहेको आयोजक समितिले जनाएको छ। 
लम्की क्षेत्रको व्यापार, पर्यटन र स्थानीय उत्पादनलाई राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना हुन लागेको यस महोत्सवमा हजारौँ दर्शक तथा सहभागीहरूको उपस्थितिको अपेक्षा गरिएको छ।






