कैलाली भजनी यज्ञराज जैसी

कैलालीको भजनी नगरपालिका ०३ अन्तर्गत बर्दुवाफाटा र दैलेखिटोल नयाँबस्तीमा “सहभागिता मुलक विपद जोखिम लेखाजोखा” सम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ।
मर्सिकोर नेपाल र सेवक नेपाल द्वारा सञ्चालित आर्थिक विकास मार्फत जोखिम व्यवस्थापन (M-RED) परियोजनाको आर्थिक तथा प्रविधिक सहयोगमा उक्त तालिम सञ्चालन गरिएको हो। 
पहिलो चरणको तालिम मंसिर १२ गतेदेखि १४ गतेसम्म बर्दुवाफाटामा सम्पन्न भएको थियो, जहाँ ४५ जना सहभागी भएका थिए। त्यस्तै दोस्रो चरणको तालिम मंसिर १५ गतेदेखि १७ गतेसम्म दैलेखिटोल नयाँबस्तीमा आयोजना गरिएको थियो, जसमा ४३ जना सहभागी रहेका थिए। 
तालिममा सहभागीहरूलाई सम्भावित विपद पहिचान, जोखिम नाप-जोख, समुदायमा आधारित प्रतिकार्य योजना, अभिलेखिकरण, विपद नक्सांकन तथा प्रतिवेदन लेखन जस्ता विषयमा व्यावहारिक रूपमा सिकाइ प्रदान गरिएको सेवक नेपालका सामुदायक सहजकर्ता श्रीया बुढाले बताईन ।
उक्त तालिमले स्थानीय समुदायलाई विपद व्यवस्थापनमा सक्षम, संगठित र तैयार बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
तालिमको सहजीकरण समुदायिक प्रशिक्षक श्रीया बुढा र स्वयंसेवक देशु चौधरीले प्रशिक्षण प्रदान गरेका थिए। 




