यज्ञ राज जैसी, भजनी

कैलालीको भजनीमा कैलाली जिल्ला फुटबल सङ्घको सहकार्यमा मदरल्याण्ड इङ्लिस बोर्डिङ स्कुल, भजनी–१ ले फुटबल प्रशिक्षण (ग्रासरुट) कार्यक्रम सुरु गरेको छ।
विद्यालयको आयोजनामा सुरु गरिएको उक्त कार्यक्रमको उद्घाटन विद्यालयका संस्थापक खडक बुढाको प्रमुख आतिथ्यतामा गरिएको हो। तीन महिनासम्म सञ्चालन हुने यस प्रशिक्षण कार्यक्रमले स्थानीय बालबालिका तथा युवा खेलाडीहरूको फुटबल सीप विकासमा टेवा पुग्ने विश्वास गरिएको छ। 
विद्यार्थीहरूको पठनपाठनलाई मध्यनजर गर्दै प्रशिक्षण शुक्रबार, शनिबार तथा अन्य सार्वजनिक बिदाका दिन दिउँसो २:०० बजेबाट सञ्चालन गरिने विद्यालयले जनाएको छ।
प्रशिक्षण कार्यक्रममा मदरल्याण्ड स्कुलका विद्यार्थीहरूलाई निःशुल्क तथा अन्य खेलाडीहरूका लागि सशुल्क सहभागिताको व्यवस्था गरिएको छ। फुटबल प्रशिक्षणमा सहभागी गराउन चाहने अभिभावक वा खेलाडीले सम्पर्क नम्बर ९८०१७१४३८२ मा सम्पर्क गर्न सक्ने विद्यालयले जनाएको छ।
स्थानीय स्तरमै फुटबल खेलको विकास र प्रतिभा उत्पादन गर्ने उद्देश्यसहित सुरु गरिएको यो कार्यक्रम भजनी क्षेत्रमा खेलकुदप्रति बढ्दो चासोलाई थप ऊर्जा दिने अपेक्षा गरिएको छ।




