कैलाली भजनी,यज्ञ राज जैसी
भजनी नगरपालिका-२ र ३, कैलाली स्थित श्री राधा-कृष्ण सामुदायिक वन उपभोक्ता समूहको १९औँ वार्षिक साधारण सभा, सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ।
चुनावी साधारण सभामा समूहको वार्षिक प्रगति प्रतिवेदन, आय-व्यय विवरणमा विस्तृत छलफल गरिएको थियो। 

कार्यक्रममा सहभागी उपभोक्ताहरूले वन संरक्षण, ताल-तलैयाको दिगो व्यवस्थापन, पारदर्शिता तथा समुदायको आवश्यकतामा आधारित कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए।
सार्वजनिक सुनुवाइ कार्यक्रममा उपभोक्ताहरूले समूहको कामकारबाही प्रति जिज्ञासा, सुझाव तथा गुनासा प्रस्तुत गरेका थिए भने समूहका पदाधिकारीहरूले ती विषयमा स्पष्टिकरण दिएका थिए।

साधारण सभाकै अवसरमा समूहको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु गरिएको छ। हाल अध्यक्षमा सन्दीप खड्का, कोषाध्यक्षमा भाग्रती बिक चयन भएका छन् भने सचिव, उपाध्यक्ष र सदस्यहरूको चयन भोलि हुने जनाइएको छ।
कार्यक्रममा भजनी नगरपालिका-२ का वडा अध्यक्ष दुर्गा बहादुर पुन, निवर्तमान प्रदेश सभा सदस्य वीरमान चौधरी, वडा सदस्यहरू, महुन्याल माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र प्रसाद जैसी, उपभोक्ता, सञ्चारकर्मी, प्रहरी, सामाजिक अगुवा तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो। 
कार्यक्रमका विशिष्ट अतिथि दुर्गा बहादुर पुनले पार्क निर्माण योजना सफलताका साथ अघि बढिरहेको उल्लेख गर्दै ताल क्षेत्रको सरसफाइ आवश्यक रहेको बताए। हाल घोडाघोडी, टिकापुर र धनगढी लगायत स्थानबाट ताल तथा संग्रहालय अवलोकनका लागि पर्यटक आउने गरेको उनले जानकारी दिए। साथै, थारु संग्रहालय तथा पार्कमा पिकनिकका लागि आउन सबैलाई आग्रह गर्दै सामुदायिक वनलाई सबैको सहकार्यमा सुन्दर बनाउन आवस्यक रहेको बताए।
प्रमुख अतिथि निवर्तमान संविधान सभा सदस्य वीरमान चौधरीले सामुदायिक वनको सम्भावना अनुसार उपयोग हुन नसकेको उल्लेख गर्दै हाल दाउरा बाहेक जडीबुटी, हरियो वनस्पति र जामुनजस्ता स्रोतको सदुपयोग हुन नसकेको बताए।
समूहको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८१ मा ३८ लाख ५२ हजार ५ सय ४१ रुपैयाँ आम्दानी भएकोमा ४० लाख ४ हजार ६ सय २५ रुपैयाँ खर्च भएको छ भने ३ लाख ५३ हजार १ सय १४ रुपैयाँ मौज्दात रहेको उल्लेख गरिएको छ।




