यज्ञराज जैशी,भजनी

भजनी, कैलाली । भजनी नगरपालिका अहिले प्रमुख प्रशासकीय अधिकृत बिहिन बनेको छ । करिब एक वर्षदेखि यहाँ कार्यरत प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपानेको हालै सरुवा भएको हो ।
न्यौपानेको सरुवापछि अहिलेसम्म नयाँ प्रमुख प्रशासकीय अधिकृतको नाम सिफारिस हुन सकेको छैन । नगर प्रमुख केवल चौधरीसहितका जनप्रतिनिधिसँग लामो समयदेखि सम्बन्ध राम्रो नबनेका कारण उनी सरुवा भएको बताइन्छ ।
यसअघि, नगरपालिकाको कार्यपालिकाबाट न्यौपानेलाई उत्कृष्ट प्रशासनिक कार्यसम्पादन गरेको भन्दै तीन लाख ७५ हजार रुपैयाँ नगद पुरस्कार समेत दिइएको थियो । नगर लेखापाल रविन्द्र देउवाका अनुसार यसका लागि नगरपालिकाले पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
तर, स्थानीयले भने नगरपालिकाको शिक्षासहितको समग्र नतिजा राम्रो नआएको भन्दै पुरस्कार उचित नभएको टिप्पणी गरेका छन् ।
चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने बेला भएको सरुवाले नगरपालिकाको कामकाज प्रभावित हुने देखिएको छ । नयाँ प्रमुख प्रशासकीय अधिकृत कहिले पठाइने भन्ने अहिलेसम्म निश्चित छैन ।




