यज्ञराज जैशी भजनी, भदौ १५

जनता सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र भजनी–१ को आयोजनामा १८ औं राष्ट्रिय पुस्तकालय दिवस २०८२ को अवसरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। महुन्याल मा.विको गेटदेखि ट्राफिक विट पडरिया चोकसम्म सरसफाइ गरिएको हो।
कार्यक्रम पुस्तकालयका अध्यक्ष हेमेन्द्र भारद्वाजको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने भजनी नगरपालिका मेयर केवल चौधरी प्रमुख अतिथि रहनुभएको थियो।
साहित्य समाज भजनी, रेडक्रस सोसाइटी उपशाखा भजनी, सञ्चारकर्मी, समाजसेवी, दिगो विकास समाजका प्रतिनिधि लगायतको सहभागिता रहेको कार्यक्रम पुस्तकालयको सभाहलमा सम्पन्न गरिएको हो।
स्वागत मन्तव्य राख्दै ज्ञानु विनाडीले पुस्तकालयले विगतमा पनि महत्वपूर्ण कार्य गर्दै आएको भन्दै आगामी दिनमा सबैको साथ आवश्यक रहने बताए। रेडक्रस सोसाइटीका सचिव राम प्रसाद शर्माले हरेक व्यक्तिले आफ्नो घर–आँगन र पसल अगाडि सरसफाइ गर्नु पर्नेमा जोड दिनुभयो।
प्रमुख अतिथि मेयर चौधरीले नगरबासीलाई पुस्तकालय दिवसको शुभकामना दिँदै सरसफाइ र विकासमा सबै एकजुट हुनुपर्ने बताए। उहाँले ६० लाख रुपैयाँ लागतको ढल निर्माण कार्य विवादकै कारण रोकिएको जानकारी दिँदै विकासमा अवरोध नगरी सहकार्य गर्न आग्रह गर्नुभयो। साथै बजार क्षेत्रमा सार्वजनिक शौचालय, हाट बजार, पिच र रेडक्रस जग्गा घेराबारजस्ता विकास योजनामा सहयोग नपाएको गुनासो पनि गर्नुभयो।
सभाध्यक्ष भारद्वाजले पुस्तकालयले विभिन्न सामाजिक कार्य, रक्तदान र सरसफाइ अभियान गर्दै आएको जानकारी दिनुभयो।




