यज्ञराज जैसी,भजनी कैलाली

कैलालीको भजनीमा पनि शान्ति पुनर्स्थापना केन्द्रको आयोजना तथा भजनी नगरपालिकाको सहकार्यमा भजनी–०५, गुलरिया घाटमा मानव बेचबिखन विरुद्धको १९औं राष्ट्रिय दिवस–२०८२ को अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। 
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी बल गुलरिया गुल्मका प्रहरी नायब उपरीक्षक (डिएसपी) ताम्राजङ्ग बस्नेत रहेका थिए। कार्यक्रममा भजनी ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक युवन चौधरी, वडा नम्बर ५ का सदस्य राजेन्द्र प्रसाद खनाल, गाउँ भलमान्सा, विद्यार्थी, शिक्षक–शिक्षिका, समाजसेवी तथा बुद्धिजीवीहरूको सहभागीता रहेको थियो। 
प्रमुख अतिथि बस्नेतले भजनीमा आएर एक साताभित्रै तीन जना लागू पदार्थ सेवन गर्ने युवालाई नियन्त्रणमा लिएर माथिल्लो निकायमा पठाइसकेको जानकारी दिनुभयो। उहाँले समाजबाट यस्ता समस्या हटाउन सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै आफूसँग भएका अनुभव तथा ज्ञानलाई अरूसँग बाँड्न आग्रह गर्नुभयो। साथै उहाँले प्रायः आफ्नै मान्छेबाट गलत कार्य हुने गरेको बताउदै सजगता हुन जोड दिनुभयो।
त्यस्तै कार्यक्रममा वडा नम्बर ५ का सदस्य राजेन्द्र प्रसाद खनाल र भजनी नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख रिजु चुकाहा चौधरीले पनि आ–आफ्ना मन्तव्य राखेका थिए। 
कार्यक्रममा मानव बेचबिखन रोकथामका उपाय, यसबाट कसरी बच्ने भन्ने बिषय, मानव ओसारपसारसँग सम्बन्धित चुनौती, कानूनी सजाय लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो।






