किसान बहुद्देशीय सहकारी संस्था लिमिटेड, शाखा कार्यालय गणेशबाबाले आफ्नो गौरवमय ३०औं वार्षिकोत्सव एक भव्य समारोहका बीच मनाएको छ। सहकारीको लामो यात्रा, सदस्यहरूको योगदान र सफलताका अध्यायलाई स्मरण गर्दै कार्यक्रमको आयोजना गरिएको हो।

कार्यक्रमको अध्यक्षता गणेशबाबा शाखाका प्रमुख रामबहादुर बि.क.ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा राजापुर नगरपालिका ८ का वडा अध्यक्ष श्री राजेश थारु उपस्थित रहनुभएको थियो। त्यस्तै, विशिष्ट अतिथिको रूपमा महालक्ष्मी विकास बैंक राजापुर शाखाका प्रमुख शेरबहादुर विक रहनुभएको थियो।
उद्घाटन समारोहको सुरुवात प्रमुख अतिथि राजेश थारुबाट पानसमा दिप प्रज्वलन गरी गरिएको थियो। त्यसपछि सहकारीका तर्फबाट स्वागत मन्तव्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहकारीको स्थापना कालदेखि अहिलेसम्मको यात्रा, आर्थिक प्रगति, समुदायमा सहकारीले पुर्याएको योगदान र भविष्यका लक्ष्यबारे विस्तृत समीक्षा पनि गरिएको थियो।
कार्यक्रममा राजापुर क्षेत्रका विभिन्न बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू, स्थानीय समुदायका अगुवा, शेयर सदस्यहरू, महिला समूहका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले सहकारीको निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्दै यसलाई अझ सशक्त र पारदर्शी बनाउने प्रतिबद्धता जनाएका थिए।
सभाध्यक्ष रामबहादुर बि.क.ले आफ्नो मन्तव्यमा सहकारीको सफल ३० वर्षे यात्रामा साथ दिने सबै सदस्य र सरोकारवालाप्रति धन्यवाद ज्ञापन गर्दै आगामी वर्षहरूमा अझ आधुनिक प्रविधि, सहज सेवा र सदस्यमुखी कार्यशैली अपनाउने योजना रहेको जानकारी दिनुभयो।
कार्यक्रमको अन्त्यमा अतिथिहरूलाई सम्मान तथा धन्यवाद ज्ञापन गरिएको थियो। यसरी किसान बहुद्देशीय सहकारी संस्था लिमिटेड, शाखा कार्यालय गणेशबाबाको ३०औं वार्षिकोत्सव उत्साह, उल्लास र एकताका साथ सम्पन्न भएको छ।






