राज्यको चौथो अङ्ग मानिने पत्रकारिताले मूलतः सत्यको अन्वेषण गरी निष्पक्ष सूचना सम्प्रेषणमार्फत प्रत्येक नागरिकलाई सुसूचित गरिरहेको हुन्छ ।

पत्रकारितामार्फत सम्प्रेषण हुने प्रत्येक सूचना वा खुराकको उत्पादक तथा प्रस्तोता स्वयम् पत्रकार हो । पत्रकारले आफ्नो ज्ञान, बुद्धि, सिप र प्रविधिको अधिकतम उपयोग गरी निरन्तर ‘सूचनाको खेती’ गर्ने गर्छ । छापाको तुलनामा प्रसारण एवं अनलाइन मिडियामा कार्यरत पत्रकार अझ बढी व्यस्त भए पनि सबैले यसलाई ‘हतारको साहित्य’ ठानेर आत्मसात् गर्नुको विकल्प छैन । व्यस्तताको बाबजुद पनि पत्रकारले प्रत्येक घटना, क्रियाकलाप र सन्दर्भबाट नियमित रूपमा लिने अनौपचारिक शिक्षा जीवनोपयोगी र पेसागत श्रीवृद्धिका लागि अमूल्य निधि मानिन्छ । ‘पढेरभन्दा परेर बढी जानिन्छ’ भन्ने लोकोक्ति अनुसार अनौपचारिक र अनियमित प्रकृतिका अनुभवले मानव जीवनको सार्थकता बोध गराउँदै पेसागत गरिमालाई उत्कर्षमा पुर्याउन अहम् भूमिका निर्वाह गरेको देखिन्छ । यद्यपि, पत्रकारिताको दरिलो जगसहित पेसागत उन्नयनमा सैद्धान्तिक ज्ञानसमेत पस्कनका लागि भने औपचारिक शिक्षाको औचित्य बढी नै हुन्छ ।
पत्रकारिताको औपचारिक शिक्षा विद्यालय तहदेखि नै सुरु हुन्छ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यव्रmम प्रारूप २०७६ अनुसार माध्यमिक तहको कक्षा ९ देखि नै ऐच्छिक विषयको रूपमा पत्रकारिता अध्ययन गर्न पाइए पनि त्यस्तो व्यवस्था औँलामा गन्न सकिने गरी सीमित विद्यालयमा मात्रै छ । २०५८ सालदेखि कक्षा ९ र १० मा ऐच्छिक द्वितीय खण्डमा पत्रकारिता विषयसमेत पठनपाठन सुरु भए पनि धेरैलाई यसबारे अझै पनि जानकारी हुन सकेको छैन । यस्तै पाठ्यपुस्तकको सहज उपलब्धता नभएर पनि यसप्रति खासै आकर्षण देखिँदैन । २०५४ सालदेखि तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्मा तहगत कक्षा ११ र १२ मा आमसञ्चार र पत्रकारिता विषय पठनपाठन हुँदै थियो । हाल यसलाई ‘आमसञ्चार’ विषयको रूपमा ऐच्छिक चौथो विषय समूहमा समेटिएको छ । विद्यालयीय शिक्षाको कक्षा ११ र १२ मा आमसञ्चार पढ्ने विद्यार्थीको सङ्ख्या भने देशभर नै उल्लेखनीय रहेको पाइन्छ ।
औपचारिक रूपमा विद्यालयीय शिक्षा (माध्यमिक तह) बाट सुरु भएको नेपालको पत्रकारिता शिक्षा विश्वविद्यालय तहमा क्रमशः विस्तार भएको पाइन्छ । स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधिसम्ममै पत्रकारिता शिक्षाको आयाम विस्तार गर्ने काम पहिलो पटक त्रिभुवन विश्वविद्यालयबाट भयो । त्रिविले २०३३ सालदेखि नै प्रवीणता प्रमाणपत्र तह (आइए) बाट पत्रकारिता शिक्षाको पठनपाठन सुरु गरेर क्रमश: उच्च तहमा यसलाई विस्तार गरेको हो । त्रिविसँगै अहिले देशभरका झन्डै दर्जन विश्वविद्यालयले पत्रकारिता तथा मिडियासम्बन्धी विभिन्न औपचारिक कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
२०५८ सालदेखि नै पूर्वाञ्चल विश्वविद्यालयमा आमसञ्चार र पत्रकारिता विषयमा स्नातकोत्तर (एमए) तहको पठनपाठन सुरु भएको पाइन्छ । पूविले स्नातक तह (बिए) मा पनि यस विषयको पठनपाठनलाई निरन्तरता दिइरहेको छ । यस्तै काठमाडौँ विश्वविद्यालयले भाषा र आमसञ्चार विभाग अन्तर्गत भाषासँगै आमसञ्चार र पत्रकारितालाई समेटेको छ । यसले अहिले विद्यावारिधि तहको अनुसन्धानमुखी कार्यक्रम पनि सञ्चालन गर्दै छ । नेपाल खुला विश्वविद्यालयले बिएमा मिडिया स्टडिज र एमएमा मास्टर्स इन मिडिया एन्ड कम्युनिकेसन स्टडिज कार्यक्रम सुरु गरी दूरशिक्षाबाट पठनपाठन गर्दै आएको छ । यसले भौतिक उपस्थितिमा हुने शिक्षण सिकाइ कृयाकलापको विकल्पका रूपमा पहिलो पटक अनलाइन शिक्षा सुरु गरेको हो । नेपाल संस्कृत विश्वविद्यालयले मूलतः पूर्वीय दर्शन र वाङ्मयसँग जोडेर मिडियासम्बद्ध विद्यावारिधि कार्यक्रम सञ्चालन गर्दै आएको छ । पोखरा विश्वविद्यालयले भने अहिले पनि अङ्ग्रेजी साहित्यसँग जोडेर ‘ब्याचलर अफ इङ्लिस एन्ड कम्युनिकेसन स्टडिज’ कार्यव्रmमलाई निरन्तरता दिइरहेको छ । मध्यपश्चिम विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा पत्रकारिता तथा आमसञ्चार शिक्षा पठनपाठन हुन्छ भने सुदूरपश्चिम विश्वविद्यालयमा स्नातक तहको कार्यक्रम सञ्चालनरत छ । यसै गरी राजर्षिजनक विश्वविद्यालयले पनि बिएमा पत्रकारिता र आमसञ्चार विषय अध्यापन गर्दै आएको पाइन्छ ।
विद्यालय तहदेखि विश्वविद्यालयसम्म नै पत्रकारिता, मिडिया र आमसञ्चारसम्बन्धी औपचारिक पठनपाठन भइरहँदा पनि अझै कैयौँ पेसाकर्मी पत्रकार यसबाट वञ्चित हुनु परिरहेको छ । विद्यालय तहदेखि पत्रकारिता शिक्षा आर्जन गर्नेको हकमा कक्षा ९ र १० मा पाठ्यव्रmम भएर पनि पाठ्यपुस्तकको उचित प्रबन्ध हुन सकेको छैन । कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीभन्दा पनि पढाउने शिक्षकको अभाव उत्तिकै छ, जसले गर्दा ग्रामीण क्षेत्रका कैयौँ विद्यालयले चाहेर पनि यस विषयलाई समावेश गर्न सकेका छैनन् । स्नातक तहमा पढ्नका लागि पनि सहरकेन्द्रित बसाइ हुनुपर्ने बाध्यता छ । पहिले त त्रिभुवन विश्वविद्यालयमा स्नातक (बिए) मा पत्रकारिता पढ्नका लागि प्रवीणता प्रमाणपत्र तहमा पनि यही विषय पढेको हुुनुपर्ने बाध्यकारी नियम थियो, जसको कारण पहिलेको पुस्ताले चाहेर पनि स्नातक तहमा सिधै पत्रकारिता पढ्न पाएन । अहिले पनि त्रिविले अन्य विषयमा स्नातक गरेकालाई सिधै स्नातकोत्तर (एमए) गर्न नदिने प्रावधान कायमै राखेकाले अन्य विषयमा स्नातक गरेका कैयौँ पेसागत पत्रकारले चाहेर पनि पढ्न पाएका छैनन् ।
त्रिविबाहेक अन्य विश्वविद्यालयको स्थापना र यससम्बन्धी कार्यक्रम सञ्चालन हुन थालेको धेरै समय भएको छैन । जसले गर्दा ती विश्वविद्यालयका सबै कार्यक्रम र तिनको प्रावधानबारे धेरै अनभिज्ञ रहेको पाइन्छ । अन्य विश्वविद्यालयबाट उपाधि हासिल गरेपछि पनि कहीँ कतै समकक्षता लिनु पर्यो भने त्रिविमै पुग्नुपर्ने व्यावहारिक झन्झटमा परेका पनि धेरै छन् । यसै गरी पेसामा सकृय पत्रकारका लागि पत्रकारिता शिक्षाको औपचारिक उपाधि लिनका लागि नियमित अध्ययन गर्ने समय पनि पर्याप्त हुँदैन । त्यसदेखिबाहेक उच्च शिक्षामा पत्रकारिता अध्ययन गर्नका लागि स्रोतसाधनको उपलब्धता पनि नहुन सक्छ । यसैले कैयौँ पत्रकारले औपचारिक शिक्षा आर्जन गर्ने चाहना हुँदाहुँदा पनि विकल्पको रूपमा अनौपचारिक शिक्षामार्फत पेसागत गरिमा उँचो बनाइराख्नु परेको छ । विभिन्न सेमिनार, तालिम, गोष्ठी र पेसागत अभ्यासलाई नै ज्ञानको प्रमुख स्रोत ठान्नुपर्ने परिसीमा देखिन्छ ।
औपचारिक शिक्षाको अभावमा कैयौँ पत्रकारले पत्रकारिताको आधारभूत सिद्धान्त, ऐतिहासिक पक्ष र समाजमा पार्ने प्रभावबारे गहन ज्ञान आर्जन गर्ने पर्याप्त मौका पाएको देखिँदैन । समाचार पहिचान, समाचारको मूल्य निरूपण, सम्पादनका सिद्धान्त र मिडिया कानुन जस्ता आधारभूत विषयहरूमा सैद्धान्तिक ज्ञानको कमी हुन सक्छ । सत्यनिष्ठता, वस्तुनिष्ठता, निष्पक्षता र गोपनीयताको अधिकार जस्ता कडा नैतिक मापदण्ड पालनामा चुनौती बढ्न सक्छ । पत्रकारितालाई केवल लेख्नु वा बोल्नु मात्र हो र यसले कानुनी र संवैधानिक अधिकारको दायराभित्र रहनुपर्दैन भन्ने गलत भाष्य सिर्जना भइरहेकामा त्यसलाई चिर्न कठिनाइ भइरहेको छ ।
त्यसो त पत्रकारिताको औपचारिक शिक्षा आर्जन गर्नेले चाहिँ सबै कुरा जानिहाल्छन् र कतै पनि त्रुटि हुँदैन भन्ने पनि होइन । औपचारिक शिक्षा आर्जन गरेको छ तर अभ्यासमा चाहिँ सव्रिmय छैन भने उसले पक्कै पनि पत्रकारिताका व्यावहारिक चुनौतीबारे बढी जानकारी लिन सक्दैन तर कोही व्रिmयाशील पत्रकारले पत्रकारिता शिक्षा नै आर्जन गरेको छ भने उसले पेसागत गरिमा उँचो बनाउने सबालमा अनेकौँ तकनिकी चाँडै विकास गर्न सक्छ । उसले जिम्मेवार पत्रकारितालाई बढावा दिने सबालमा अदालती मानहानि, प्रतिलिपि अधिकार, प्रेस स्वतन्त्रतासम्बन्धी कानुन, सूचनाको हकसम्बन्धी कानुन र राष्ट्रिय सुरक्षासम्बन्धी कानुनका बारेमा समेत विस्तृत ज्ञान आर्जन गर्न सक्छ । यसैको परिणामस्वरूप उसलाई कानुनी झमेलाबाट बँच्न र आफ्नो व्यावसायिक सीमाभित्र रहेर प्रभावकारी काम गर्न सहयोग पुग्छ ।
तालिमकेन्द्रित सिकाइभन्दा औपचारिक शिक्षाकेन्द्रित सिकाइमा सुव्यवस्थित पाठ्यव्रmमसँगै लामो समायावधिको पठनपाठन हुने गर्छ, जसबाट धेरै ज्ञान आर्जन गर्न सकिने हुन्छ ।
अहिले ‘नागरिक पत्रकारिता’ को बृहत् अवधारणा र अभ्यासले गर्दा मूलधारको वास्तविक पत्रकारिता ओझेल परिरहेको छ । मूलधारको पत्रकारितालाई समयानुकूल परिष्कृत गरी पेसागत गरिमा उँचो बनाउने सवालमा पत्रकारिता शिक्षाको अपरिहार्यता बढ्दो छ । परम्परागत रूपमा अभ्यासमुखी पत्रकारहरूबाट चलिआएको नेपाली मिडिया क्षेत्रलाई आजको सूचना प्रविधि र सामाजिक सञ्जालको युगमा व्यावसायिकता प्रदान गर्न औपचारिक शिक्षाले नै दह्रो टेवा दिन सक्छ ।
पत्रकारिता शिक्षाले पत्रकारहरूलाई नैतिक आचारसंहिता मात्र नभई मिडिया कानुन र अफवाह न्यूनीकरणका लागि तथ्य–जाँचका आधारभूत सिपहरूमा पनि निपुण बनाउँछ । सिद्धान्तनिष्ठ विचार बुझेर प्रत्येक विषयसम्बद्ध स्पष्ट नीति, विधि र प्रकृयाको यथार्थ जानकारी हासिल गर्न सक्ने पत्रकारले मात्रै खोजी पत्रकारितामार्फत आफूलाई अब्बल साबित गर्न सक्छ ।
अतः पत्रकारिता सत्य अन्वेषण र निष्पक्ष सूचना सम्प्रेषण गर्ने त्यस्तो पेसा हो, जहाँ पत्रकारले व्यस्तताबिच अनौपचारिक अनुभवबाट निरन्तर सिकाइ प्राप्त गरिरहेका हुन्छन् तर दीर्घकालीन व्यावसायिकता, नैतिकता र सिद्धान्तको स्पष्ट बुझाइका लागि औपचारिक शिक्षाको आवश्यकता दिनानुदिन बढ्न थालेको छ । यसबाट उच्च तहसम्मकै औपचारिक शिक्षा आर्जन गरिरहेकाहरू अँटाउने एउटा दरिलो पेसामा पत्रकारिता पनि सहजै दर्ज हुन्छ । नेपालमा कक्षा ९ बाट सुरु भएको पत्रकारिता शिक्षा विद्यालय तहमा त्यति मौलाउन नसकिरहेको अवस्था छ । त्रिभुवन विश्वविद्यालयबाट सुरु भएको पत्रकारिता शिक्षा अहिले धेरै विश्वविद्यालयमा फैलिएको भए पनि पहुँच, समय र स्रोत अभावले धेरै पत्रकारको पढ्ने चाहना पूरा हुन सकेको छैन । परिणामतः मिडिया कानुन, नैतिकता, समाचार मूल्याङ्कन र तथ्य–जाँचमा कमजोरी बढ्न गई पत्रकारिताको विश्वनीयतामा धेरै प्रश्न चिह्न खडा भइरहेको छ । यसैले विश्वसनीय पत्रकारिताको प्रश्नात्मक खाडल पूरा गर्न पनि पत्रकारिता शिक्षाको सर्वसुलभ पहुँच विस्तारमा सबैको ध्यान जान जरुरी छ ।




