नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको चुनौती दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्ता दिपेन्द्रसिंह ऐरीले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्नुभएको हो । बलिङको निम्तो पाएको लुम्बिनीको कसिलो बलिङमा सुदूरपश्चिम १९ ओभर एक बलमा सबै विकेट गुमाउँदै ८५ रनमा समेटिएको हो ।
सुदूरपश्चिमका लागि ओपनर इशान पाण्डेले सर्वाधिक ३३ रन बनाउनुभयो । कप्तान दिपेन्द्रसिंह ऐरीले १३, हर्षित सिंह र स्कट कग्लेजिनले समान १०/१० रन बनाउनुभयो ।अन्य ब्याट्सम्यानले दोहोरो रन जोड्न सक्नु भएन ।
सुदूरपश्चिमलाई कम स्कोरमा रोक्न बलिङमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गर्नुभएको छ । ११ ओभरको चौथो, पाँचौ र छैटौं बलमा क्रमश सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी, दिपक बोहरा र पुनित मेहराको विकेट लिँदै पौडेलले ह्याट्रिक पूरा गर्नुभएको हो । । यस्तै शेर मल्ल र रूवेन ट्रुम्पलम्यानले तीन तीन तथा तिलक भण्डारीले एक विकेट लिनुभयो ।
सुदूरपश्चिम पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै फाइनलमा पुगेको हो भने दोस्रो क्वालिफायरमा विराटनगरलाई नै ४० रनले हराउँदै लुम्बिनी फाइनल पुगेको हो ।सुदूरपश्चिम अघिल्लो सिजनको उपविजेता टिम हो भने लुम्बिनी अघिल्लो सिजन समूह चरणबाटै बाहिरिएको थियो । लुम्बिनीले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।