लम्किचुहा नगरपालिकाको आयोजना तथा राष्ट्रिय नमुना माध्यमिक विद्यालय मोतिपुरको समन्वयमा विधालय स्तरीय नगरप्रमुख तथा राष्ट्रपति खेलकुद प्रतियोगिता २०८२ आजबाट औपचारिक रूपमा सुरु भएको छ।

कार्यक्रम लम्किचुहा नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुस्मा महता केसीको सभाध्यक्षता मा सम्पन्न भएको थियो भने उद्घाटन समारोहका प्रमुख अतिथि लम्किचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाही रहनुभएको थियो। उद्घाटन समारोहमा नगर प्रमुख शाहीले प्रतियोगिताको औपचारिक उद्घाटन गर्दै खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नैतिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले नगरपालिकाले खेलकुद क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै आएको र यस्ता प्रतियोगिताले भविष्यका सक्षम खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
“स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको उक्त प्रतियोगितामा लम्किचुहा नगरपालिका भित्रका ६४ वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको छ। प्रतियोगिताको उद्घाटनको दिन तीन वटा खेल प्रतियोगिता सञ्चालन गरिएको थियो, जसको उद्घाटन नगर प्रमुख सुशीला शाहीले गर्नुभएको थियो।
उक्त प्रतियोगिता राष्ट्रिय नमुना माध्यमिक विद्यालय मोतिपुरको परिसरमा ७ दिनसम्म सञ्चालन हुने लम्किचुहा नगरपालिकाले जनाएको छ। प्रतियोगिताको अवधिभर विभिन्न खेल विधाहरू समावेश गरिनेछन्।
उद्घाटन कार्यक्रममा लम्कीचुहा नगरपालिकाकी उपप्रमुख जुना चौधरी, वडा नम्बर १ देखि १० सम्मका वडा अध्यक्षहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू, समाजसेवीहरू, नगर खेलकुद समितिका अध्यक्ष कपिल ढकाल, शिक्षकहरू, विद्यार्थीहरू लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन राष्ट्रिय नमुना माध्यमिक विद्यालय मोतिपुरका शिक्षक विष्णु खनालले गर्नुभएको थियो।
प्रतियोगिताले नगरभित्र खेलकुदमैत्री वातावरण सिर्जना गर्नुका साथै विद्यार्थीहरूमा अनुशासन, प्रतिस्पर्धात्मक भावना र नेतृत्व क्षमताको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।




