यज्ञराज जैसी, भजनी कैलाली
कैलालीको भजनी नगरपालिका वडा नं. २ का २१ वर्षीय लक्स बुढा आज भजनीका युवामाझ संघर्ष, आत्मनिर्भरता र देशप्रेमको उदाहरणीय पात्रका रूपमा स्थापित हुँदै गएका छन्। साधारण परिवारमा जन्मिए पनि असाधारण सोच, इमानदार जीवनशैली र समाजप्रतिको जिम्मेवारीले उनी धेरै युवाका लागि प्रेरणाको स्रोत बनेका छन्। 

लक्स बुढाको जन्म २००४ मंसिर १४ गते अछाम जिल्लाको मेल्लेख गाउँपालिका वडा नं. ३ ठाँटी दर्बामा बुवा खेमराज बुढा र आमा धरु देवी बुढाको घरमा भएको हो। उनी दुई महिनाका हुँदा आमाको निधन भएपछि बाजे सगुने बुढा र बजेई तुली देवी बुढाको संरक्षणमा हुर्किएका हुन्। मातृस्नेहको अभाव भए पनि परिवारको माया, संस्कार र आशिषले उनलाई जीवनमा कहिल्यै कमजोर हुन दिएन।
बाल्यकालदेखि नै संघर्षसँग जुध्दै आएका लक्सले कठिन परिस्थितिलाई सिकाइको अवसर बनाए। भैंसीको दूध खुवाएर हुर्किएको बाल्यकालले उनलाई आत्मनिर्भर, जिम्मेवार र मेहनती बनाएको छ। हाल उनका बाजे,बजेई भजनी नगरपालिका वडा नं. २ मा बसोबास गर्दै आउनुभएको छ भने बुवा, आमा र कान्छो भाइ भारतमा बस्दै आएका छन्। 
शिक्षा क्षेत्रमा पनि उनले निरन्तर संघर्ष गरे। प्रारम्भिक शिक्षा टिकापुरस्थित श्री वीरेन्द्र विद्या मन्दिरबाट हासिल गरेका लक्सले पछि भारतमा केही समय अध्ययन गरे। त्यसपछि नेपाल फर्किएर भजनी नगरपालिकास्थित श्री महुन्याल माध्यमिक विद्यालयबाट कम्प्युटर विज्ञान र लेखा विषयमा कक्षा १२ उत्तीर्ण गरेका हुन्।
पढाइसँगै सामाजिक उत्तरदायित्वमा पनि उनी सक्रिय देखिए। विद्यालयस्तरमै अपाङ्ग, विपन्न तथा असहाय व्यक्तिहरूको सहयोगमा सहभागी हुँदै आएका लक्सले “साँचो शिक्षा समाजलाई फाइदा पुर्याउने हुनुपर्छ” भन्ने मान्यतालाई आत्मसात् गरेका छन्।
बुढा सामाजिक सेवा र देशप्रेमका लागि सक्रिय छन्। उनले २० वर्षको उमेरमा १२ पटक रक्तदान गरिसकेका छन् भने सरसफाइ, वृक्षरोपण र विद्यार्थी सचेतना कार्यक्रममा पनि निरन्तर सहभागी हुँदै आएका थिए ।
राजनीतिक रूपमा प्रत्यक्ष सक्रिय नभए पनि उनी समाज र युवासम्बन्धी विषयमा स्पष्ट र निडर धारणा राख्छन्। देश विकास गर्न पद होइन, इच्छाशक्ति र इमानदारी चाहिन्छ, भन्ने उनको भनाइ छ। आलोचना र असफलतालाई उनी सुधारको अवसरका रूपमा लिन्छन्।
हाल उनी थप अनुभव र सीप हासिल गर्ने उद्देश्यले जापानमा तर्फ गएका छन्। तर उनको लक्ष्य स्थायी बसाइ होइन। जापानी भाषा र सीप सिकेर मात्रै विदेश गईरहेको उनले भविष्यमा नेपाल फर्किएर समाज र देशका लागि काम गर्ने दृढ संकल्प गरेका छन्। “म पैसा कमाउन मात्र होइन, सिकेर फर्किन गएको हुँ,” उनी भन्छन्।
सामाजिक सेवामा समेत उनको योगदान उल्लेखनीय छ। २० वर्षको उमेरमै उनले १२ पटक रक्तदान गरिसकेका छन्। सरसफाइ, वृक्षरोपण, विद्यार्थी सचेतना तथा सामाजिक सहयोगका गतिविधिमा उनको सक्रिय सहभागिता देखिन्छ। उनी आफ्ना कामको प्रचारभन्दा कर्मलाई नै ठूलो मान्छन्।




