यज्ञ राज जैसी भजनी,

संघीय संरचनाको मर्मअनुसार नागरिकलाई नजिकको शासकीय इकाइबाट सेवा उपलब्ध गराउने उद्देश्यसहित भजनी नगरपालिकाले करदाता सेवा सञ्चालनमा ल्याएको छ। यससँगै अब कर सम्बन्धी सेवाका लागि नागरिकले जिल्ला तहसम्म धाउनुपर्ने बाध्यता अन्त्य हुने भएको छ। 
नेपाल सरकारको मिति २०८२ कार्तिक १७ गतेको निर्णयका आधारमा आन्तरिक राजस्व कार्यालय धनगढी, कैलाली र भजनी नगरपालिका बीच सेवा सञ्चालन सम्बन्धी सम्झौता भएपछि नगरपालिकाबाट करदाता सेवा सुरु गरिएको हो। यसअघि करदाता सेवा कार्यालयबाट मात्रै प्रवाह हुँदै आएका सेवा अब स्थानीय तहबाटै उपलब्ध हुने भएका छन्।
सेवाको औपचारिक सुरुवातका क्रममा बिहीबार भजनी नगरपालिका वडा नं. ९ का रोहित राजीलाई पहिलो करदाताका रूपमा स्थायी लेखा नम्बर (प्यान) परिचय–पत्र हस्तान्तरण गरिएको छ। सोही अवसरमा नगरपालिकाले स्थानीय तहबाटै कर सम्बन्धी सेवा प्रवाह सुरु भएको घोषणा गरेको हो। 
नगर प्रमुख केवल चौधरीले संघीयताको लाभ नागरिक तहसम्म अनुभूति गराउने दिशामा यो सेवा महत्वपूर्ण कदम भएको बताए। नगरपालिकाभित्रका व्यवसायी तथा करदातालाई कर सम्बन्धी सम्पूर्ण सेवा अब नगरपालिकाबाटै लिन सकिने भन्दै उनले स्थानीय नागरिकलाई नजिकबाट सेवा प्रवाह गर्ने अवसर पाउँदा आफूहरू उत्साहित रहेको प्रतिक्रिया दिए।
नगरपालिकाबाट सेवा सुरु भएपछि करदाताको समय, खर्च र झन्झट घट्ने विश्वास गरिएको छ भने स्थानीय शासन प्रणाली थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।




