बुधबार खक्रौला नाकास्थित सशस्त्र प्रहरी बलको सीमा सुरक्षा गुल्मभित्रै डिएसपी प्रदीप पौडेलमाथि आक्रमण भएको घटना सार्वजनिक भएको छ। भारतबाट ल्याइएको सामानको जाँचका क्रममा सुरु भएको विवाद पछि हिंसात्मक रूप लिएको प्रहरीले जनाएको छ।


यसै विषयमा छलफल गर्न टीकापुर उद्योग वाणिज्य संघको टोली गुल्म पुगेको थियो। छलफल सकिएलगत्तै केही स्थानीय व्यापारी समूहका युवाहरू गुल्मभित्रै प्रवेश गरी डिएसपी पौडेलमाथि हातपातमा उत्रिएको बताइएको छ।
प्रहरीका अनुसार सुरुवातमा दुबै पक्षबीच अपमानजनक शब्द प्रयोग भएको थियो। गेटमा डिएसपीले एक युवकलाई ‘तँ किन आएको’ भनेपछि विवाद चर्किएको र त्यसपछि समूह आक्रोशित भई आक्रमणमा उत्रिएको जनाइएको छ। 
घटनामा संलग्न रहेको आरोपमा टीकापुर नगरपालिका–९ का ४० वर्षीय रामबहादुर साउद पक्राउ परेका छन् भने अन्य पाँच जना फरार छन्। नयन साउद, सर्पराज साउद, सुरेश खड्का, रमेश खड्का र रशिद आलिखानविरुद्ध ‘आपराधिक उपद्रव’ मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
घटनापछि सुरक्षा कमजोरी देखिएको भन्दै गुल्ममा कार्यरत ३१ जना सशस्त्र प्रहरीलाई जिल्ला तान्ने तयारी गरिएको छ भने नयाँ टोली खटाउने प्रक्रिया अघि बढाइएको छ।
यस घटनाको छानबिनका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीले एसपी अनिल कार्कीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।





