क्षितिज जैसी कैलाली लम्की: कैलाली क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य केपी खनालले आज अर्थ मन्त्रालयमा सुदूरपश्चिम प्रदेशका विभिन्न महत्वपूर्ण पूर्वाधार योजनाहरूको कार्यान्वयन र बजेट व्यवस्थापनबारे उच्चस्तरीय छलफल गर्नुभएको छ।

माननीय खनालले “सेती लोक मार्ग”, “चिसापानी–जङ्गलघाट अछाम सडकखण्ड” तथा “सत्ती भन्सार” परियोजनाका विषयमा अर्थ सचिव डा. घनश्याम उपाध्याय र अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका सहसचिव डा. धनिराम शर्मासँग भेटघाट गरी विस्तृत कुराकानी गर्नुभएको हो।

भेटका क्रममा ती योजनाहरूको वर्तमान अवस्था, बजेट व्यवस्थापन, र तीव्र कार्यान्वयनका सम्भावनाहरूको समीक्षा गरिएको बताइएको छ। यसमा विशेषगरी सेती लोक मार्ग र चिसापानी–जङ्गलघाट सडकखण्डले दुर्गम क्षेत्रहरूलाई सहज पहुँच प्रदान गर्ने र सत्ती भन्सार सञ्चालनमा आएमा सीमा क्षेत्रको व्यापार प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
माननीय खनाल फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा कैलाली–२ बाट विजयी हुनुभएको थियो।




