
सत्ताको आडमा अस्वाभाविक तथा गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा देउवा परिवारविरुद्ध यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो। सोही आधारमा संकलित प्रमाण र सूचनालाई थप मजबुत बनाउँदै अनुसन्धान अघि बढाइएको जनाइएको छ।
स्रोतका अनुसार पछिल्लो एकदेखि डेढ वर्षको अवधिमा जयवीर देउवा र उनका नजिकका नातेदारका नाममा खरिद गरिएको करिब ७३ रोपनी जग्गाको विवरण संकलन गरिएको छ। साथै प्रदीपशम्सेर जबरा, भुषण राणा लगायतबाट जयवीर तथा अन्य व्यक्तिका खातामा भएको आर्थिक कारोबारबारे पनि अनुसन्धान भइरहेको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु राणा देउवाको सम्भावित संलग्नता तथा नेपाल टेलिकमको बिलिङ अनियमिततासँग सम्बन्धित विवादास्पद निर्णयपछि भएका आर्थिक गतिविधिबारे समेत छानबिन भइरहेको बताइएको छ।
यसै सिलसिलामा, अनुसन्धानमा असर पर्न सक्ने र प्रमाण लोप हुन सक्ने आशंकाका कारण उच्चस्तरीय निर्देशनमा देउवा निवास भत्काउने काम रोकिएको प्रहरी स्रोतले जनाएको छ।





