यज्ञराज जैसी भजनी कैलाली,
कैलालीको भजनी नगरपालिका–७ हिम्मतपुरमा सीमा नाकाबाट हुने सामान ओसारपसार तथा सुरक्षा व्यवस्थापनबारे सरोकारवालाहरूबीच छलफल सम्पन्न भएको छ।


सशस्त्र प्रहरी बल नेपाल, बीओपी हिम्मतपुरका प्रमुख केशब कुमार बुढाको अध्यक्षतामा आयोजित उक्त छलफलमा सीमा क्षेत्रको सुरक्षा, अवैध चोरी–तस्करी नियन्त्रण तथा दैनिक उपभोगका सामान ओसारपसार सम्बन्धी विषयमा व्यापक छलफल गरिएको थियो।

छलफलले सशस्त्र प्रहरी बलको जिम्मेवारी क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण गर्न सबै सरोकारवालाले सहयोग गर्ने निर्णय गरेको छ। त्यस्तै, नेपाल सरकारले तोकेको नियमअनुसार सीमाबाट १०० रुपैयाँभन्दा बढीका सामान ल्याउँदा लाग्ने कर तथा प्रक्रिया सम्बन्धी जानकारी सर्वसाधारणमा प्रवाह गर्ने विषयमा पनि सहमति भएको छ।
यसैगरी, नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त रूपमा निगरानी कडा पार्दै सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने निर्णय समेत गरिएको छ। अवैध रूपमा सामान ओसारपसार नगर्न जनचेतना फैलाउने र निगरानी बढाउने विषयमा पनि विशेष जोड दिइएको छ।
उक्त कार्यक्रममा भजनी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष अमर बहादुर कठरिया, वडा नं. ९ का वडा अध्यक्ष सन्जिव कुमार चौधरी, वडा नं. ४ का वडा अध्यक्ष जन्ताराम चौधरी, गाउँ भलमन्सा, राजनीतिकर्मी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।




