क्षितिज जैसी,लम्कीचुहा

नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाको आयोजना तथा आइएफआरसी को सहयोगमा सोमवार (श्रावण ५ गते) देखि टीकापुरमा “लैङ्गिक हिंसा रोकथाम सम्बन्धी दुई दिने तालिम” सुरु गरिएको छ। “नेपाल बाढीः सामान्य पूर्वकार्यका गतिविधिहरू” अन्तर्गत सञ्चालन गरिएको तालिमको औपचारिक उद्घाटन नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाका सभापति लोकराज जोशीले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा जिल्ला शाखाका उपसभापति दिपा बडायक, उपमन्त्री भीम बहादुर महर, उपकोषाध्यक्ष रंगप्रसाद तिमिल्सैना, जिल्ला कार्यसमिति सदस्य टोपबहादुर केसी, तारा साउद, मिना चौधरी लगायत केन्द्रीय कार्यालयका कर्मचारी प्रमोद अधिकारी र बिनोद लामिछानेको उपस्थिति रहेको थियो।
तालिममा टीकापुर नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका र भजनी नगरपालिकाका उपशाखाहरूमा कार्यरत रेडक्रस स्वयंसेवक तथा कर्मचारीहरूको सहभागिता रहेको छ। तालिमलाई नेपाल रेडक्रस सोसाइटीको लैङ्गिक तथा समावेशीकरण विभागका निर्देशक दिव्यराज पौडेल र सेफ गार्डिङ कोर्डिनेटर शुभेच्छा मानन्धरले प्रशिक्षण दिईरहनुभएको छ ।
प्रशिक्षकहरूद्वारा सहभागीहरूलाई बाढी तथा विपद्का समयमा लैङ्गिक हिंसाका सम्भावित जोखिमहरू, त्यसबाट जोगिन अपनाउनुपर्ने उपायहरू, सुरक्षित प्रतिक्रिया प्रणाली, तथा समुदायस्तरमा लैङ्गिक समावेशी व्यवहारका महत्त्व बारेमा जानकारी दिइने बताइएको छ।
विपद्का बेला महिलाहरू, बालबालिका र अशक्तहरू बढी प्रभावित हुने भएकाले लैङ्गिक दृष्टिकोणबाट सचेतना आवश्यक रहने भएकोले तालिम संचालन गरिएको बताइएको छ ।
सभापति जोशीले उद्घाटन सत्रमा बोल्दै विपद् व्यवस्थापनका बेला लैङ्गिक समावेशीता र मानवअधिकारको संरक्षण अनिवार्य रहेको बताउँदै, रेडक्रसको मानवतावादी दृष्टिकोण अनुसार समुदायमा समान व्यवहारको संस्कृति विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
दुई दिनसम्म चल्ने तालिमको उद्देश्य सहभागीहरूलाई विपद्को तयारी, राहत र पुनःस्थापनामा लैङ्गिक संवेदनशीलता समावेश गर्ने ज्ञान र सीप प्रदान गर्नु रहेको आयोजक संस्थाले जनाएको छ। तालिममा २६ जनाको सहभागिता रहेको छ ।




